भारतमा फर्कन थाल्यो मास्क लगाउने दिन, कोरोनाले मृत्यु पनि बढायो

भारत । भारतमा लगातार बढ्दै गएका कोरोना संक्रमितलाई मध्यनजर गर्दै केहि राज्यका निश्चित क्षेत्रमा मास्क अनिवार्य गरिएको छ । मास्क अनिवार्य गरिएका ठाउँमा हरियाणा, महाराष्ट्र र तमिलनाडुका केही क्षेत्र छन् । यस्तो अवस्थामा दिल्लीमा पनि चाँडै मास्क अनिवार्य हुनसक्ने सम्भावना व्यक्त गरिदैछ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार त्यहाँ २४ घण्टामा कोरोनाका ३ हजार ३८ नयाँ केस दर्ता भएका छन् । योसँगै देशमा उपचार गराइरहेका बिरामीको संख्या २१ हजार १७९ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सोमबार दिल्ली र पञ्जाबमा दुई–दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ भने जम्मू-कश्मीर, महाराष्ट्र र उत्तराखण्डमा १-१ जना बिरामीको मृत्यु भएको छ।
मास्क सम्बन्धी नयाँ नियम ?
हरियाणाको मनोहर लाल खट्टर सरकारले राज्यमा १०० भन्दा बढी मानिस भेला हुने ठाउँमा मास्क लगाउन अनिवार्य गरेको छ। यसबाहेक राज्यमा चिकित्सा क्षेत्रसँग सम्बन्धित सबै व्यक्तिले मास्क लगाउनु पर्नेछ। राज्यका स्वास्थ्यमन्त्री अनिल विजले यो जानकारी दिएका हुन् । यसका साथै रुघाखोकी लागेका बिरामीलाई अनिवार्य परीक्षण गराउन समेत सुझाव दिइएको छ ।
महाराष्ट्रमा सरकारले त्यहाँका सबै सरकारी कार्यालयहरुका साथै सतारा जिल्लाका कलेज र बैंकहरूमा मास्क अनिवार्य गरेको छ। तमिलनाडु सरकारले पनि अप्रिल १ देखि राज्यका अस्पतालहरूमा लगातार बढ्दो केसहरूलाई ध्यानमा राख्दै मास्क अनिवार्य गरेको छ ।

प्रतिक्रिया