अपर तामाकोशी हाइड्रोपावरको सीईओमा मोहनप्रसाद गौतम नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत १४ गतेको २७२औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११औं तहका (निर्देशक) गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरूलाई फरफारक गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेड स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न स्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ ।

प्रतिक्रिया