कोरोना संक्रमण पुष्टिपछि सीमामा कडाइ

नेपालखोज २०७९ चैत २२ गते ७:१४

दार्चुला । दार्चुलामा एक २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सीमामा कडाइ गरिएको छ । भारतको चेन्नइबाट घर फर्किएका नौगाड गाउँपालिका–३ का पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

सिमानाका पुलघाटमा भारतबाट फर्किएका ती पुरुषको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सूचना अधिकारी कार्कीका अनुसार कोरोना पुष्टि भएका उनलाई होम आइसोलेसनमा बस्नेगरी आजै घर पठाइएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

भारतमा मजदुरी गरी घर फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमामा कडाई गरीएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । नयाँ वर्ष विशु पर्व नजिक आउँदै गरेकाले भारतका विभिन्न ठाउँमा रहेका नेपाली पर्व मनाउन घर फर्किने क्रम बढ्दो छ ।

यसलाई ध्यानमा राख्दै कोरोना परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया