नेपालगञ्ज मेडिकल कलेजमा खुमा अर्यालको बहुमत सेयर

नेपालखोज २०७९ चैत २२ गते ८:०५

काठमाडौं । मेडिकल व्यवसायी खुमा अर्यालले नेपालगञ्ज मेडिकल कलेजमा आफ्नो स्वामित्व ५१ प्रतिशत पुर्याएका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा ४१ प्रतिशत थप सेयर खरिद गरेर ५१ प्रतिशत पुर्याएको व्यवसायी अर्यालले बताए । उनले भैरहवामा युनिभर्सल मेडिकल कलेज र पोखरामा गण्डकी मेडिकल कलेज सञ्चालन गरिरहेका छन् ।

मेरो बहुमत हुने हुँदा मेडिकल कलेजलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने सहयोग पुग्ने उनले बताएका छन् । नेपालगञ्ज मेडिकल कलेज २०७८ सालको भदौमा अर्का मेडिकल व्यवसायी सुनिल शर्माले किन्ने निर्णय गरेका थिए । विराटनगर र काठमाडौंमा मेडिकल कलेज चलाउने शर्माले करिब एक अर्बमा ४४ प्रतिशत सेयर स्वामित्व लिने सम्झौता गरेका थिए ।

सेयर किनबेचको सम्झौता भएर पनि केही रकम बैना बुझाए पनि शर्माले सो सेयर किन्न पाएनन् । नेपालगन्ज मेडिकल कलेजमा वीरेन्द्र कनौडियाको प्रमुख सेयर लगानी रहेको छ ।

५१ प्रतिशत स्वामित्व बनाउन लागेका अर्यालले सबै साझेदारको गरेर ४१ प्रतिशत सेयर किनेको बताए । नेपालगन्ज मेडिकल कलेजमा ७० जनाको नाममा सेयर छ । जसमा अहिलेसम्म सबैभन्दा बढी सेयर कनौडिया परिवारको नाममा रहेको थियो ।
गतवर्षनै मेडिकल कलेजमा कर्मचारीको समस्या भएको हुँदा कनौडिया मेडिकल कलेजमा भएको सेयर बिक्री गरेर बाहिरिने मुडमा पुगेका थिए । अर्यालले नेपालगञ्ज मेडिकल कलेजलाई नयाँ ढंगले सञ्चालन गर्ने बताउँछन् ।

बाँकेको चिसापानीमा कलेजले एमबीबीएस पढाउने गर्छ । कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । कलेजको नाममा करिब डेढ अर्ब जति ऋण रहेको छ । कोभिडको समयदेखि नै अस्पतालको आम्दानी घटेपछि कनौडिया परिवारले सेयर बिक्री गर्न खोजेको थियो ।

नेपालगन्ज मेडिकल कलेज बाँकेको नेपालगन्जमा अस्पताल, कोहलपुरमा कलेज तथा अस्पताल तथा महेन्द्रनगरमा जग्गा रहेको छ । यसको सबै गर्दा ३ अर्बभन्दा बढीको सम्पत्ति रहेको छ ।

मेडिकल कलेजमा पछिल्लो वर्षहरुमा पुराना लगानीकर्ता बाहिरिने र नयाँ लगानीकर्ता प्रवेश गर्ने क्रम बढेको छ । अहिले नेपालगञ्ज मेडिकल कलेजको स्वामित्व ५१ प्रतिशत लिएपछि अर्याल मेडिकल कलेजमा सबैभन्दा ठूलो व्यवसायी बनेका छन् ।

अर्याल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका छन् । उनी समानुपातिकबाट प्रतिनिधिसभाको उमेदवार हुन् । डा. सुनील शर्मा कांग्रेसबाट सांसद हुन् । नेपालगञ्ज कलेजको सेयर बिक्री गरेका कनौडिया कांग्रेसको राजनीतिमा संलग्न छन् ।

वीरगन्जमा नेसनल मेडिकल कलेज र काठमाडौंमा नेपाल मेडिकल कलेज सञ्चालन गर्ने बसुरुद्धिन अन्सारी माओवादी हुँदै एमाले प्रवेश गरेर निर्वाचन लडेका थिए ।

प्रतिक्रिया