आणविक हतियारहरूको संख्यामा वृद्धि

काठमाडाैं । नर्वेजियन पिपुल्स एडको एउटा नयाँ प्रतिवेदनमा सन् २०२२ मा प्रयोगयोग्य आणविक हतियारको भण्डार १ सय ३० भन्दा बढीले बढेको उल्लेख छ । प्रतिवेदनका लेखकहरूले आणविक हतियारबाट मानवलाई हुने खतराका सम्बन्धमा चेतावनी पनि दिएका छन् ।
नर्वेजियन पिपुल्स एड (एनपीए) नामक गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२३ को सुरुसम्ममा विश्वभर आणविक हतियारको संख्या ९ ,५७६ पुगेको छ जुन अघिल्लो वर्षको ९,४४० थियो।
उक्त रिपोर्ट भन्छ- अहिले संसारमा हिरोशिमामा फालिएको बम सरहको १३५,००० भन्दा बढी आणविक शक्ति छ । प्रतिवेदनमा अमेरिका र रुसले प्रत्येक वर्ष आफ्ना केही पुराना हतियार हटाएपछि कुल हतियारको संख्यामा कमी आएको उल्लेख छ । यद्यपि, जुन दरमा नयाँ हतियार निर्माण भैरहेका छन्, तिनको संख्या खारेज हुने हतियारको संख्याभन्दा बढी हुन सक्छ ।
प्रतिवेदन अनुसार रुस, चीन, भारत, उत्तर कोरिया र पाकिस्तान जस्ता पाँच वटा देश यो आणविक हतियार बृद्धिमा मुख्य रूपमा जिम्मेवार छन् । यी देशले २०२२ देखि आफ्नो हतियार भण्डार थप विस्तार गरेका छन् र विश्वव्यापी रूपमा सैन्य प्रयोगको लागि उपलब्ध हतियारको भण्डारमा १ सय ३६ वटा नयाँ आणविक हतियार थपेका छन् । यद्यपि, एनपीएका ग्रीथ ओस्टर्न भन्छन्- नयाँ हतियार उत्पादनको गतिले हटाइएका हतियारलाई प्रतिस्थापन गर्न सक्छ । ओस्टर्न भन्छन्, “यो वृद्धि चिन्ताजनक छ र २०१७ मा सुरु भएको आणविक विस्तारको प्रवृत्ति धेरै खतरनाक छ ।”
स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार सन् १९८६ मा अमेरिका र सोभियत संघबीचको तनावको उचाइमा आणविक हतियारको कुल संख्या ७०,००० पुगेको थियो । २०२३ मा यो संख्या १२,५१२ मा आयो जुन यो पृथ्वीमा जीवन समाप्त पार्न पर्याप्त छ । रूससँग हाल विश्वको सबैभन्दा ठूलो आणविक हतियारको भण्डार छ भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका बक्तब्यले बेलाबेलामा संसारको तनाव बढाइरहेको छ ।
एएफपी
प्रतिक्रिया