आइतबार, जेठ ६, २०८१

‘पढ्न नदिँदा मृत्युदण्ड पाएजस्तो लाग्छ’

नेपालखोज २०७८ मंसिर २९ गते ९:४६

काबुल । अफगानिस्तानका स्कुले किशोरी तथा बालिका आफूहरूले पढ्न नपाएको भन्दै खिन्न छन् । सत्ता कब्जा गर्नेबित्तिकै तालिबान समूहले महिलालाई पढ्न र कामकाज गर्न दिने भने पनि त्यो स्वतन्त्रता दिइएको छैन । तालिवान नेतृत्वको सरकारले सन् १९९६ देखि अफगानिस्तानमा शासन गर्दाको व्यवहार नै दोहोर्‍याएको छ । तालिवानले सत्ता हातमा लिएको महिनौ बितिसक्दा पनि आफूहरूलाई विद्यालय जानबाट बन्चित गरिएको भन्दै बालिका तथा किशोरी निराश छन् ।

१५ वर्षीया मीना भन्छिन्, ‘पढ्न नपाउनु मृत्युदण्ड जस्तो लाग्छ ।’ मीना र उनका साथीहरूले अफगानिस्तानको उत्तर–पूर्वी बदख्शान प्रान्तमा विद्यालय बन्द भएपछि हराएको र अन्योलमा परेको महसुस गरेका छन् ।

अर्की १६ वर्षीया लैला भन्छिन्, ‘हामीसँग घरको कामबाहेक अरू केही छैन, हामी एक ठाउँमा जम्मा भएका छौं ।’ तखार प्रान्तको एक विद्यालय अध्ययनरत उनी अगस्तमा तालिबानले सत्ता कब्जा गरेको दिनदेखि विद्यालय बन्द गरेर आफूलाई शिक्षाबाट वञ्चित गराएको गुनासो गर्छिन् ।

जति सक्दो चाँडो पढाइ पुनः सुरु गर्न सक्ने तालिबानले सञ्चारकर्मीलाई आश्वासन दिए पनि विद्यालयमा किशोरीलाई पढ्न दिने छाँटकाँटै छैन । माध्यमिक विद्यालयबाट वञ्चित हुँदा शैक्षिक अधिकारको सरकारले हनन् गरेको उनीहरूले महसुस गरेका छन् । तालिबानको कडा शासनमा किशोरीहरूले खुलेर सरकारको विरोध गर्दै आवाज पनि उठाउन सकेका छैनन् ।

तालिवान शासन आएपछि धेरै बालिकाको सानै उमेरमा विवाह हुँदै छ । यस्तै एक विद्यालयमा अध्ययन गर्दै गरेका तीन बालिकाको पनि सानै उमेरमा भर्खरै विवाह भयो । सानै उमेरमा विवाह हुनुको कारणमा सरकारले पढ्न नदिनु रहेको विद्यालयका शिक्षकहरू बताउँछन् ।

ह्वाटसएपमार्फत आफ्ना विद्यार्थीसँग सम्पर्कमा रहने काबुलकी एक प्रधानाध्यापक भन्छिन्, ‘विद्यार्थीहरू साँच्चै निराश छन, उनीहरू मानसिक रूपमा पीडामा छन् । म उनीहरूलाई आशा दिने प्रयास गर्छु । तर यो गाह्रो छ, किनभने उनीहरू धेरै दुःख र निराशाको सामना गरिरहेका छन् ।’

केही विद्यालयका शिक्षकहरूले प्राथमिक विद्यालयमा पनि बालिकाको उपस्थितिमा गिरावट आएपछि चिन्ता व्यक्त गरेका छन् । असुरक्षाको खतरा भएपछि अभिभावकले आफ्ना छोरीलाई विद्यालय पठाउन हिच्किचाएको शिक्षकहरूले सञ्चारकर्मीसँग गुनासो गरेका छन् ।

तालिबानले स्कुले किशोरीलाई विद्यालय जानबाट वञ्चित गरेको विभिन्न तथ्यांकले पुष्टि गरेको छ । नोभेम्बरमा प्राथमिक र माध्यमिक तहमा बालिका तथा किशोरीको उपस्थितिको अध्ययन गरिँदा कक्षामा शून्य उपस्थितिमा किशोरीहरू रहेको पाइएको छ ।

सरकारी अधिकारीहरूले भने किशोरीमा सीधा प्रतिबन्ध लगाइएको भन्ने विषयको खण्डन गरेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा कार्यवाहक उप–शिक्षामन्त्री अब्दुल हाकिम हेमतले नयाँ वर्षमा नयाँ शिक्षा नीति नआएसम्म किशोरीहरूलाई माध्यमिक विद्यालय जान नदिने कुराको पुष्टि गरेका छन् । यसका बाबजुद पनि स्थानीय तालिबान अधिकारीहरूसँगको वार्तापछि केही किशोरीका लागि विद्यालय पुनः खोलिएको बताइएको छ ।

अफगानिस्तानको बल्ख प्रान्तको उत्तरी सहर मजार–ए–सरिफमा एक प्रधानाध्यापकले भने कुनै समस्या नभएको र किशोरीहरू सामान्य रूपमा विद्यालयमा पढिरहेको बताएका छन् । तर यस ठाउँमा जस्तो सुविधा अफगानिस्तानको अरू प्रान्तका विद्यालयमा छैन ।

मजार–ए–सरिफ सहरका एक किशोरी विद्यार्थीले सशस्त्र तालिबान लडाकुहरूको एउटा समूहले सडकमा आएर किशोरीहरूलाई कपाल र मुख नदेखाउन उर्दी गरेको गरेको बताएकी छन् । यो उर्दीपछि उनको विद्यालयमा अधिकांश बालिका आउन छाडेका छन् ।

स्थिति शान्त नभएको र डरले काँपिरहनु परेको अवस्था भएको किशोरीहरू गुनासो गर्छन् । तालिबानले सत्ता कब्जा गरेपछि सेप्टेम्बरमा केटाहरूलाई माध्यमिक विद्यालयमा फर्कन आदेश दियो । तर केटीहरूको सम्बन्धमा केही उल्लेख गरेन । बरु अप्रत्यक्ष रूपमा मुख र कपाल देखाएर नहिँड्न चेतावनी दिएको छ ।

असुरक्षाको खतरा भएपछि अभिभावकले आफ्ना छोरीलाई विद्यालय पठाउन हिच्किचाएको शिक्षकहरूले सञ्चारकर्मीसँग गुनासो गरेका छन् ।

डाक्टर बन्न चाहने किशोरी लैला किताब तथा उपकरणहरू आफ्नो कोठामा सफा र व्यवस्थित राख्छिन् । कहिले फेरि प्रयोग गर्न सकिएला भनेर सपना बुनिरहन्छिन् । तर उनको सपना विपनामा परिणत हुने छाँटकाँटै देखिँदैन । लैला भन्छिन्, ‘जब म मेरो कपडा, किताब, स्कार्फ र मेरो जुत्ता प्रयोग नगरी टेबलमा थन्किएको देख्छु, मलाई असाध्यै रिस उठ्छ । मलाई कहिल्यै घरमा बस्न मन लाग्दैन । पढेर डाक्टर हुन मन छ ।’ लैला शल्यचिकित्सक बन्न चाहन्छिन्, तर उनलाई आफ्नो पढाइ जारी राख्न नदिने हो कि भन्ने आशंका छ ।

तालिवानको सरकार आउनुअघिका साथीसंगी लैला खुब सम्झिन्छिन् । विद्यालयमा लाइन बसेको र आफ्ना साथीहरूसँग हाँसेको उनलाई सपना जस्तो लागेको छ । लैला पुनः भन्छिन्, ‘कक्षाकोठामा जानुअघि राष्ट्रिय गान गाउने गरिन्थ्यो, ती पलहरूको बारेमा सोच्दा म आफ्नो भविष्यका बारेमा निराश र आशाहीन महसुस गर्छु, ।’

यता अफगानिस्तानका कार्यवाहक उप–शिक्षामन्त्री अब्दुल हाकिम हेमत भने किशोरी विद्यालय जान केही समय ढिलो भएको बताउँछन् । उनी केटीहरूलाई विद्यालय जानका लागि सुरक्षित वातावरण सुनिश्चित गरिएको भन्दै सरकार तथा आफ्नो बचाऊ गर्छन् । मन्त्री हेमतले केटी र केटाको कक्षा अलग÷अलग गरिनुपर्ने आवश्यकतामा जोड दिन्छन् । सन् १९९६ र २००१ को बीचमा तालिवानको अन्तिम शासनकालमा महिला वर्गलाई विद्यालय तथा विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो । यस वर्षको बन्दले पनि त्यही परिपाटी दोहोर्‍याएको संकेत गरेको छ ।

यता युनिसेफले अफगानिस्तानमा बालविवाह बढ्दै गएको रिपोर्टप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । मध्य घोर प्रान्तका एक प्रधानाध्यापक भन्छिन्, विद्यार्थीहरूले हरेक सामना गरिरहेका छन्, मलाई लाग्छ हाम्रा धेरै विद्यार्थीहरू मर्नेछन् । उनीहरूसँग पर्याप्त खाना छैन । लगाउने न्यानो कपडा पनि छैन ।’ ती प्रधानाध्यापक अफगानिस्तानका अधिकांश बालबकालिकाको परिवारमा चरम गरिबी रहेको बताउँछिन् ।
–बीबीसी

प्रतिक्रिया