सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिकारी सरदार वंशु गुरुङको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।
तनहुँ क्षेत्र नं २ का सांसद शङ्कर भण्डारीको नेतृत्वमा आएको उक्त प्रतिस्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको हो । प्रतिष्ठानले उहाँका नाममा हुलाक टिकट प्रकाशन गर्नसमेत माग गरेको छ ।
गुरुङले राष्ट्रका लागि पुर्याएका योगदानलाई इतिहासमा लिपिबद्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको सरदार गुरुङका छैटौँ पुस्ताका लेख गुरुङले जानकारी दिए । ‘वंशु गुरुङका नाममा स्थापित प्रतिष्ठानलाई राज्यले बजेटको व्यवस्था गर्नुपर्नेमा जानकारी गरायौँ,’ उनले भने, ‘हाम्रा मागमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’
शुक्लागण्डकीको तनहुँमा जन्मिएका गुरुङलाई प्रख्यात सिकारीका रुपमा लिइने गरिएको छ । उनले विसं १८२४ मा सिन्धुलीगढीको युद्धमा अङ्ग्रेजलाई परास्त गरेका र युद्धमा कहिले पनि नहारेको गुरुङले जानकारी दिए ।
सांसद भण्डारीले गुरुङलाई अहिलेसम्म राज्यका तर्फबाट कुनै पनि सम्मान नगरिएकाले अब यस विषयमा ध्यान दिन आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया