शनिबार, वैशाख २२, २०८१

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

नेपालखोज २०७९ चैत २५ गते १६:३०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरिन् । त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ ।

‘सरकारले फजुल खर्च कटौती गर्न लागेको छ’, मन्त्री शर्माले भनिन् । विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उनले विश्वास व्यक्त गरिन् । उनले भने, ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ । त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन । यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गरौँ ।’

पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चारजगत्का समस्या समाधान खोज्न आग्रह गरिन् । उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन । यो लोकतन्त्रका लागि नराम्रो हो’ । नेपाल पत्रकार महासङ्घको काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गर्न सो अवसरमा उनले प्रतिबद्धता व्यक्त गरिन् ।

वार्षिक साधारणसभाका अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार, २०७९ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया