शुक्रबार, चैत ७, २०८१

आयकरको विवरण र कम्पनी नवीकरण गर्ने म्याद थप्न परिसंघको माग

नेपालखोज २०७७ पुष २५ गते १६:३७

काठमाडौं । नेपाल उद्योग परिसंघले आयकर विवरण बझाउने तथा कम्पनी नवीकरण गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका छन् ।

Advertisement

उनले पहिले सरकारले भनेकै समयमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बझाउने र कम्पनी नवीकरण गरेको तर अहिले कोभिडको कारणबाट उद्योग व्यवसायहरु प्रभावित भएकोले म्याद थप गर्नुको विकल्प नरहेको बताए ।

कोभिडको कारण कतिपय उद्योग व्यवसायहरु खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको अवस्थामा कतिपय उद्योगी व्यवसायीहरुले लेखा परीक्षण कार्यसमेत सम्पन्न गर्न नसकेको अवस्थालाई मध्यनजगर गरी आगामी चैत मसान्तसम्म म्याद थप गरे उद्योगी व्यसायीलाई सहज हुने अध्यक्ष मोरको भनाई रहेको छ ।

कतिपय उद्योग एवं व्यवसायमा समयमा नै आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने परिस्थिति नहुँदा उद्योगी व्यवसायीले थप शुल्क तथा जरिवान तिर्नु पर्ने भएकोले सरकारले समयमा नै म्याद थप गरी समस्याको समाधान गर्न परिसंघले माग गरेको छ । परिसंघले प्रभावित व्यवसायीहरुले समय थप भएसँगै सहजरुपमा आयकर विवरण बुझाउन तथा कम्पनी अद्यावधिक गरी सरकारको राजश्व संकलनको लक्ष्यमा सघाउ पुर्याउन परिसंघ प्रतिवद्ध रहेको जनाएको छ ।

आयकर ऐनमा भएको व्यवस्था अनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भए अनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्तसम्म तोकिएको छ ।

प्रतिक्रिया