धोनीको धमाका, रोहित सेना स्तब्ध

काठमाडाैं । जडेजाको उत्कृष्ट स्पिन बलिङ तथा अजिंक्य रहाणेको तीव्र अर्धशतकको मद्दतले चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि चेन्नईको यो सिजनमा लगातार दोस्रो जित हो ।
यसअघि पहिले ब्याटिङमा ओर्लिएको मुम्बईले १ सय ५७ रन बनाएको थियो । जवाफमा चेन्नईको सुरुआत राम्रो हुन सकेन । डेभन कोनवे पहिलो ओभरमै जेसन बेहरेनडर्फको बलमा कुनै रन बनाई आउट भए । त्यसपछि पिचमा आएका अजिंक्य रहाणे भने अर्कै लयमा देखिए । उनले उत्कृष्ट ब्याटिङ गरे र पावरप्लेमा यो आईपीएलको सबैभन्दा तिब्र अर्धशतक बनाए। उनले आफ्नो अर्धशतक पूरा गर्न १९ बल मात्र लिए । यो आईपीएलमा अहिलेसम्मकै तीब्र अर्धशतक हो । पावरप्लेमा चेन्नईको स्कोर ६८ रन पुगेको थियो ।
उनले दोस्रो विकेटका लागि ऋतुराज गायकवाडसँग अर्धशतकीय साझेदारी पनि खेले । ४४ बलमा ८२ रनको साझेदारी गरेपछि रहाणेलाई पियुष चावलाले आउट गरेका थिए । उनले २७ बलमा ६१ रन बनाए । त्यसपछि शिवम दुबे पिचमा आए र उनले गायकवाडसँग चौथो विकेटका लागि ४३ रन जोडे । १ सय २५ रनमा आउट हुनुअघि शिवम दुबेले २८ रन बनाए । चेन्नईले अन्तिममा ११ बल बाँकी रहँदा १८ औं ओभरमा लक्ष्य पुरा गर्यो । ऋतुराज गायकवाड ४० रन बनाएर अविजित रहे भने अम्बाती रायडु २० रन बनाएर नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको थियो ।
टस जितेर महेन्द्र सिंह धोनीले पहिले बलिङ गर्ने निर्णय गरेका थिए । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा र इशान किशनले इनिङ्सको सुरुवात गरेका थिए । दुवैले तीव्र गतिमा रन बनाउँदै पहिलो ओभरमा १० रन र दोस्रो ओभरमा ८ रन जोडे । धोनीले मगलालाई तेस्रो ओभर बलिङ गर्न बोलाए तर यो ओभरमा इशान किशनले तीन चौका प्रहार गरे। पहिलो तीन ओभरमा मुम्बई इन्डियन्सले बिना कुनै क्षति ३० रन बनाएको थियो । त्यसपछि तुषार देशपाण्डे दोस्रो ओभर बलिङ गर्न आए र रोहितले उनलाई पहिलो बलमा छक्का प्रहार गरे । यद्यपि यो ओभरको अन्तिम बलमा तुषारले रोहित शर्मालाई बोल्ड गरे ।
रोहितले १३ बलमा २१ रन बनाए । रोहित आउट भएपछि पनि इशान किशनको ब्याट चुप लागेन र उनले चौका प्रहार गरे । ३ ओभरमा ३० रन बनाएको मुम्बईले पावरप्लेको अन्त्यसम्म ६१ रन जोडिसकेको थियो । धोनीले यहाँ बलिङ परिवर्तन गरेर रविन्द्र जडेजालाई बल दिए र उनी आउने बित्तिकै इशान किशनलाई प्याभिलियन फर्काए। इशान किशनले २१ बलमा ३२ रनको इनिङ खेले । त्यसपछि अर्को छेउमा मिचेल सान्टनर आए र उनले पहिलो ओभरमा सूर्यकुमार यादवलाई पनि आउट गरे ।
फिल्ड अम्पायरले सूर्यकुमारलाई नटआउट दिए तर धोनीले निर्णय समीक्षा गरे र सूर्यकुमारलाई आउट घोषित गरियो । त्यसपछिका ओभरमा लगातार विकेट झर्न थाले र १० औं ओभरमा मुम्बईको आधा टिम प्याभेलियन फर्कियो । यसबीच तिलक वर्माले २२ रनको उत्कृष्ट इनिङ्स खेले भने १७ औं ओभरमा टिम डेभिडले १८ रन बनाए । अन्ततः मुम्बई इन्डियन्सले २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

प्रतिक्रिया