कोभिड सम्बन्धि केहि जिज्ञासा र जवाफ

डा. रवीन्द्र पाण्डे २०७९ चैत २७ गते ६:५८

अहिले फेरि कोरोना संक्रमण बढदै गएको छ । अहिले कोरोनाका कारण अस्पताल भर्ना भएका बिरामीमध्ये अधिकांशमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएका छन् । यस्तो अवस्थामा समय मै सचेत हुने हो भने हामी यो महामारिको चपेटाबाट जोगिन सक्छौं ।

कस्तो अवस्थामा पीसीआर गर्ने ? पीसीआर नगरे हुँदैन र ?

ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्छ । समयमै पीसीअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ र के उपचार गर्ने भन्ने थाहा हुन्छ तसर्थ पीसीआर टेस्ट गर्नुपर्छ

-एकपटक पीसीआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन्छ । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।

खोपले काम गरेको छ कि छैन ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?

खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ । उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ । प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ ।

के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?
-भिटामिन सी, डी र जिंक लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।

एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?

-एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन ।

के जडिबुटी वा आयुर्बेद औषधिले कोभिड निको गर्छ ?

गर्दैन । सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् ।

के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?

पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको र जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन ।

अक्सिमिटर कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?

अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ । महँगो किन्नुपर्दैन । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ । ९५ देखि १०० यसको नर्मल भ्यालु हो ।

अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?

घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ । यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।

कोरोना भए के गर्ने ?

सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्छ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन । अस्पतालको फिभर क्लिनिकमा जांच गराएपछि तपाइंको अवस्था अनुरुप चिकित्सकले उपचारको ब्यबस्था गर्छन् ।

मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?

मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ । डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन ।

सुत्केरी संक्रमित भए बच्चालाई दुध चुसाउने कि नाचुसाउने ?

सुत्केरीले मास्क लगाएर, बच्चाको बिपरित दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसंग सफा गरेर दुध चुसाउन मिल्छ । दुध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ । सुत्केरी बस्ने कोठाको झ्याल र ढोका खुला हुनुपर्छ ।

यो महामारी कति खतरनाक छ ?

यसपटकको लहर तुलनात्मक रुपमा संक्रामक भएपनि मृत्युदर कम छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन । संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन ।

सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?

हुँदैन १ फोक्सोमा संक्रमण र निमोनिया र पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसंगै अक्सिजन लिंदा फाइदा गर्छ । अक्सिजन आफैले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ ।

सामाजिक संजालमा लेखिएका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?

नगर्ने । हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ । चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ ।

कोभिडको उपचार के छ ?

कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।

पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन ?

मापदण्ड पालना नगरे संक्रमण हुन्छ । अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ ।

कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?

विभिन्न वैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ । अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन । सरकारले दिने सूचना र बिज्ञका कुरा विश्वास गर्नुपर्छ । कोरोना के हो रु भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने र नगर्ने बारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ ।

(डा. पाण्डेको यो लेख एक वर्ष पुरानो हो । कोभिडका बिमारी बढिरहेको सन्दर्भमा सामयिक हुने मानेर यसलाई जनचेतनाका लागि उनको सामाजिक संजालबाट साभार एवं परिमार्जन गरिएको हो ।)

प्रतिक्रिया