उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै अस्पतालमै बन्धक

नेपालखोज २०७९ चैत २८ गते ११:१०

धनुषा । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन् ।

गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो ।

उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन् ।

उनी अस्पतालमै तीन छोराछोरीसहित बन्धक छिन् । उनले अस्पताललाई उपचारवापतको रु छ लाख ६९ हजार तिर्न बाँकी छ । सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएकी हुन् । उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । टोलीले अस्पतालको अनुगमनसमेत गरेका छन् ।

प्रतिक्रिया