मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल

नेपालखोज २०७९ चैत २८ गते १४:०६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकार र निजी दुवै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभा कार्यक्रममा उनले मुलुकलाई समृद्धितर्फ लैजाने ठूलो जमातका रुपमा निजी क्षेत्र रहेकाले सरकारले हातेमालो गरेर अघि बढ्ने बताए ।

‘निजी क्षेत्रको सहयोगबिना यो मुलुकले आर्थिक समृद्धि पाउन सक्दैन । निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने अहिलेको समयको माग छ । यसका लागि सरकार हरेक कुराको सहयोग गर्न तयार छ,’ उद्योगमन्त्री रिजालले भने ।

उद्योगी व्यवसायीको समस्याबारे सरकार बुझ्ने क्रममा रहेको पनि मन्त्री रिजालको भनाइ छ । अहिले देखिएका समस्याबारे सरकार गम्भीर रहेको बताउदै मन्त्री रिजालले निजी क्षेत्रलाई निरुत्साहित नहुनसमेत आग्रह गरे ।

‘मुलुक चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ । आर्थिक अवस्था त्यति राम्रो छैन । आयात निर्यातमा ठूलो अन्तर छ । उद्योगी व्यवसायी निरुत्साहित हुनुहुन्छ । उद्योग ठप्प भएका छन् । यस्ता धेरै गुनासा हामीले सुन्नु परेको छ,’ उनले भने ।

अर्थतन्त्रमा अहिले देखिएको समस्या एकैपटक आएको नभइ कोभिड महामारी, रुस युक्रेन युद्धलगायतका विश्व अर्थतन्त्रमा देखिएको समस्याका कारण सिर्जना भएको रिजालको भनाइ छ । अर्थतन्त्र सुधारका लागि अहिले सरकार पर्खेर बस्नुपर्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया