खुमलटारमाथि मछिन्द्रको फराकिलो जित

काठमाडौं । अफिज ओलावालेले पाँच गोल गरेको खेलमा मछिन्द्रले मंगलबार खुमलटारमाथि ७–३ फराकिलो विजय हासिल गरेको छ । जारी लिगको एकै खेलमा दश गोल भएको यो पहिलो पटक हो ।
त्यस्तै, ओलावाले जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । जारी लिगमा ओलावाले आठ गोल गरिसकेका छन् । यससँगै ओलावाले धेरै गोल गर्ने खेलाडीको सुचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।
धेरै गोल गर्नेको दोस्रो स्थानमा सातदोबाटोका दीपकराज सिंह ठकुरी छन् । उनले पाँच गोल गरेका छन् । खुमलटारका मेसुके ओलामाउले पनि पाँच गोल गरेका छन् ।
च्यासल फुटबल मैदानमा मछिन्द्रले २५औँ मिनेटमा ओलावालेको गोलबाट अग्रता लिएको थियो । ओलावालेले सुरज बिकको लामो पासलाई नियन्त्रणमा लिँदै विपक्षी एक रक्षकलाई कटाएर हानेको प्रहार खुमलटारका गोलकिपरले रोक्न सकेनन् । त्यसको चार मिनेट वित्न नपाउँदै ओलावालेले दोस्रो गोल थपेका थिए । उनले भुटानी स्टार चेन्चो ग्याल्चेनको पासमा गोल गरेका हुन् ।
पहिलो हाफको इन्जुरी समयमा विमल घर्तीमगरले अर्को गोल थपेका थिए । चेन्चोले हानेको प्रहार गोलकिपरले राम्रोसँग क्लियर गर्न नसक्दा रिबाउन्डमा आएको बललाई विमलले पोष्टको दिशा दिएका थिए । ५४औँ मिनेटमा ओलावालेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।
मछिन्द्रका फरवार्ड विमलले गोलकिपरलाई कटाएर हानेको प्रहार खुमलटारका रक्षक पदम भट्टराईको हातमा लागेपछि साविक विजेताले पेनाल्टी अवसर पाएको थियो । जसलाई ओलावालेले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए ।
६०औँ मिनेटमा नवप्रवेशी खुमलटारका मेसुके ओलामाउले गोल गर्दै अन्तर कम गरे ।
६२औँ मिनेटमा ओलावालेले व्यक्तिगत चौथो गोल थपे । उनले पुजन उपरकोटीको पासमा गोल गरेका हुन् । त्यसको पाँच मिनेट वित्न नपाउँदै ओलावालेले अर्को गोल थपे । ओलावालेले आन्द्रेस नियाको क्रसमा गोल गरेका थिए ।
७५औँ मिनेटमा स्टेफन समिरले पेनाल्टीमा गरेको गोलबाट खुमलटारले अन्तर कम गर्यो । रेजिन सुब्बालाई मछिन्द्रका उत्सव राईले फाउल गरेपछि खुमलटारले पेनाल्टी अवसर पाएको हो ।
८१औँ मिनेटमा मेसुकेले गरेको अर्को गोलबाट खुमलटारले पुनरागमनको प्रयास गरेको थियो । तर, खेल सकिन तीन मिनेट बाँकी हुँदा विजय भुजेलले अर्को गोल थपेपछि मछिन्द्रले सहज जित दर्ता गरेको हो ।
नयाँ प्रशिक्षक किशोरकुमार केसीको प्रशिक्षणमा मछिन्द्रको यो लगातार दोस्रो जित हो । मछिन्द्रले यसअघि संकटालाई २–१ ले हराएको थियो । जारी लिगमा साविक विजेता मछिन्द्रको यो तेस्रो जित हो ।
जितसँगै मछिन्द्रले आठ खेलबाट १२ अंक जोडेको छ । यससँगै मछिन्द्र छैटौँ स्थानमा उक्लन सफल भएको छ । जुन पाँचौँ स्थानका त्रिभुवन आर्मीसँग अंक बराबरी हो भने चौथो स्थानको सातदोबाटोभन्दा एक अंकले पछाडि हो । त्यस्तै, शीर्ष स्थानको मनाङ मर्स्याङ्दीभन्दा तीन अंकले तल हो । तथापी मछिन्द्रले एक खेल बढी खेलेको छ ।
पराजित खुमलटार सात अंकका साथ दशौँ स्थानमा छ । आजै सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथ क्लबलाई ३–१ ले हराएको हो । पराजित जावलाखेल १४ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया