शुक्रबार, वैशाख १२, २०८२

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

नेपालखोज २०७९ चैत २८ गते १७:११

अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक क्षेत्रमा पनि राहत पुगेको छ ।

मन्दिरको आम्दानीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय र शीतगङ्गा नगरपालिका–२, सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकले तलब पाइरहेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीका अनुसार आदर्श माविका लागि मासिक करिब रु ६५ हजार र शान्ति निमाविमा मासिक रु ५५ हजार रकम उपलब्ध गराइएको र अन्य विद्यालयमा समेत आवश्यकताअनुसार रकम उपलब्ध गराउने गरिएको छ । भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहत लगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उनले बताए ।

मन्दिरमा दैनिक आउने दर्शनार्थीहरूले चढाउने भेटी, सुपादेउराली मातालाई सम्झेर भाकल गरेबापत चढाइने भेटी नै मन्दिरको नियमित आम्दानी हो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षको अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय निर्माणका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भेटीको करिब ७५ प्रतिशत चन्दा विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च हुन्छ । उपहारबाट गरिब विद्यार्थीलाई आर्थिक सहयोग, छात्रवृत्ति र सहयोग उपलब्ध गराइएको छ । भक्तजनले चढाएको भेटीबाट मन्दिरको मासिक आम्दानी करिब रु २० लाखसम्म हुने गरेको उनले बताए ।

अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो ।

प्रतिक्रिया