जीविकाका लागि सडकमै गीत गाउन बाध्य दृष्टिविहीन

नेपालखोज २०७९ चैत २९ गते १३:१२

झापा । कक्षा १२ उत्तीर्ण दृष्टिविहीन जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिन्छन् ।

चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उनले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । दृष्टिविहीन रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग सङ्कलन गरिरहेकी छिन्।

चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिएकी छिन् । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उनीसँग सुरिलो स्वर छ ।

झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुङ्गा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका दृष्टिविहीनको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ । उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पिकर हुन्छ । दृष्टिविहीन गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को विकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी नभनी सडकमा दिनभर गाउन बाध्य छन् ।

जेठा मुर्मु अहिले ३५ वर्ष पुगे । कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उनले सङ्गीतको डिप्लोमा कोर्स पूरा गरेका छन् । गाउने सुरिलो स्वर भएका उनी सङ्गीत प्रशिक्षकको रुपमा पनि चिनिन्छन् । तर, नियतिले उनलाई हातमुख जोड्ने सङ्घर्षको क्रममा सडकमै पु्र्यायो । ‘पढेको पनि हो, सङ्गीत पनि जानेको हो, तर जागिर कतै पाइएन,’ मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिएका उनी भन्छन्–’श्रीमती र बालबच्चा यही गीत गाएर पालिरहेको छु ।’

प्रतिक्रिया