रुविनाको घातक बलिङमा बर्मी आर्मी ६१ रनले विजयी

एजेन्सी । नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले बर्मी आर्मीबाट फेयर ब्रेक टि २० प्रतियोगितामा शफायर्स वुमन्सविरुद्ध घातक बलिङ गर्दै पाँच विकेट लिनुको साथै सानदार अलराउन्ड प्रदर्शन गरेकी छिन् । रुविनाका सानदार अलराउन्ड प्रदर्शनको सहयोगमा बर्मी आर्मी ६१ रनले विजयी भएको छ ।
जितको लागि १ सय ६९ रनको बलियो लक्ष्य पछ्याएका शफायर्स १५.५ ओभरमा १ सय ७ रनमा अल आउट भयो । स्पिनर रुविनाले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ५ विकेट लिइन् ।
रुविना फेयर ब्रेकमा पाँच विकेट लिने पहिलो एसोसिएट बलर बनेकी छिन् । समग्रमा एकै खेलमा फेयर ब्रेकमा पाँच विकेट लिने उनी चौथो खेलाडी हुन् । यस प्रतियोगिता पहिलो बलर हुन् ।
रुविनाको घातक बलिङ सामु शफायर्सका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तशा फरेन्टले ३२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाइन् । इरुन ब्रुन्स १७ बलमा ४ चौकासहित २१ र बबेटी डी लिडेले २५ बलमा ४ चौकासहित २३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङका निम्तो पाएको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । रुविना २५ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहिन् । उनको स्ट्राइक रेट १ सय २८ थियो । यस खेलमा बर्मीको सर्वाधक रन बनाउने दोस्रो ब्याटर हुन् ।
ओपनर लौरा वोल्भार्डटले ३९ बलमा ९ चौकासहित ४९ रनमा आउट भइन् । शेमेन क्याम्पबेलले १७ बलमा ५ चौकासहित ३० रनमा आउट भइन् । यसअघि दुई खेल खेलेपनि रुविनाले ब्याटिङको अवसर गर्ने अवसर आएको थिएन ।
शफायर्सकी जिभाना अर्सले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिइन् । साना मिर, केरी चान, सिबोना जिमी र अदितिबाले समान एक विकेट लिइन् ।

प्रतिक्रिया