सोमबार, वैशाख १५, २०८२

कर्कट राशिका लागि वर्ष – २०८०

नेपालखोज २०७९ चैत ३० गते १७:००

कर्कट राशिका मानिसहरूका लागि यो वर्ष मध्यम रहनेछ । वर्षभरी नै शनिग्रहको अढैयाले बाधा अडचनहरु सृजना गरिरहला । बृहस्पति तथा राहुका कारण आर्थिक उतारचढावको सामना गर्नु पर्ला । नजिकका व्यक्तिसँग वादविवाद हुनुका साथै दूरी पनि बढनेछ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल मिल्नेछ । वर्षको मध्यमा समय राम्रै भएपनि मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ भने ठोस निर्णय लिन पनि गार्‍हो हुनेछ ।

व्यापार – व्यवसाय : व्यापारीक दृष्टिले वर्ष सामान्य रहनेछ । बुद्धिले काम गरे फाइदा लिन सकिनेछ । आषा मरिसकेको वा रोकिएको धन हात पर्न सक्छ । धनआर्जनको स्रोत बृद्धि हुनेछ । तरल पदार्थ, घरजग्गा, शृंगार तथा सेयरको कामबाट राम्रो आम्दानी लिन सकिनेछ । वर्षको उत्तरार्धमा दलाली तथा खाद्यान्नको कारोबारमा भने मन्दी देखा पर्नेछ । आर्थिक दृष्टिले वैशाख तथा साउन बाधक देखिन्छन् भने असोज र माघ महिना लाभदायक रहनेछन ।

प्रेम जीवन : प्रेम प्रसङ्गका दृष्टिले यो वर्ष मध्यम छ । पुराना प्रेम जोडीहरूको सम्बन्ध थप सुमधुर हुँदै पारिवारिक समर्थन जुटनेछ । नयाँ प्रेम सम्बन्ध नजोडनु नै बेस हुन्छ । पुराना सम्बन्ध तथा टाढिएका व्यक्ति नजिक हुनसक्छन् ।

शिक्षा : अध्ययन – अध्यापनको क्षेत्रमा सुधार आउनेछ भने परिश्रम अनुसार सफलता मिल्नेछ । डिजाइन, भाषा, प्रविधि तथा व्यवस्थापन विषयका विद्यार्थीहरूले राम्रो सफलता हात पार्नेछन । विदेशमा अध्ययन गर्नेहरुका लागि पनि समय अनुकुल छ ।

करियर : आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला सृजना हुन सक्छ । साउन महिना पछि नयाँ रोजगारिको अवसर प्राप्त होला । सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । राहु र शनिको नकारात्मक प्रभावले झुटा आरोप पनि लाग्न सक्छ । कानूनी झमेलामा पर्न सकिन्छ । सामाजिक एवं राजनैतिक क्षेत्रमा विविध समस्या देखा पर्ने छन ।

स्वास्थ्य : प्रजनन, पेट तथा नसाको समस्या बढ्नाले लामो समय औषधी सेवन गर्नुपर्ने हुनसक्छ । आफन्त तथा घरपरिवारको स्वास्थ्य उपचारमा खर्च गर्नुपर्ला । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन नदिन खानपिनमा सावधानी अपनाउनु होला ।

शुभ रङ्ग तथा अङ्क : कर्कट राशिका लागि सेतो, रातो, हरियो तथा पहेँलो रङ्ग शुभ रङ्ग मानिन्छ भने २, ३, ६ र ७ शुभ अङ्क हो ।

सुझाव : ग्रह पीडा कम गर्न बृहस्पति, शनि, राहु र केतु सहित नवग्रहको शान्ति पाठ गराउनु उपयुुक्त हुन्छ । शनिबार हनुमानजीको व्रत बसि दर्शन, पूजा आदि गरे फाइदा होला । जन्मदिन वा शनिबार बरपिपल रोप्न सके भाग्य बृद्धि हुने र काममा सफलता मिल्ने देखिन्छ ।

आफ्नो जन्म बारका दिन शाकाहारी खाना खानुका साथै कुनै शुभ कर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले राम्रो परिणाम प्राप्त गर्न सहयोग हुनेछ ।

प्रतिक्रिया