कुल बेरूजु ५ खर्ब ८७ अर्ब पुग्यो

काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको यस वर्षको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको बेरुजु देखिएको हो । योसँगै कुल बेरुजु ५ खर्ब ८७ अर्ब पुगेको छ ।
बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी ३ वर्गमा वर्गीकरण गरिएको छ । असुल गर्नुपर्ने बेरुजुअन्तर्गत हिनामिना र मस्यौट, हानी नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु उल्लेख गरिएको छ ।
यस्तै, नियमित गर्नुपर्ने बेरुजुमा अनियमित भएको, प्रमाण कागजात नपुगेको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको राखिएको छ । पेश्कीमा कर्मचारी, मोबिलाइजेसन र अन्य पेश्कीमा वर्गीकरण गरिएको छ ।
संघीय सरकारी कार्यालयको बेरुजु ५६ अर्ब ३१ करोड, प्रदेशमा ७ अर्ब २० करोड र स्थानीय तहमा ४२ अर्ब ८८ करोड र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
अद्यावधिक बेरुजु गत वर्षको भन्दा २१.४५ प्रतिशतले बढेको जनाइएको छ । आव २०७७/७८ सम्म ४ खर्ब ८३ अर्ब ५९ करोड बेरुजु रहेको थियो ।
प्रतिक्रिया