ध्वनी प्रदुषणका कारण चराहरू समस्यामा

नेपालखोज २०८० वैशाख २ गते ६:५४

काठमाडाैं । संसारभरका अधिकांश गरिबहरू औद्योगिक प्लान्ट, ल्यान्डफिल साइट, रेलवे लाइन वा सडकको छेउमा बसोबास गर्छन् जसका कारण एउटै सहरमा बस्ने धनी मानिसको तुलनामा उनीहरुले धेरै ठुलो हल्लाको सामना गर्नुपर्ने हुन्छ । कोलाहलले मानिसलाई मात्र नभई जनावरलाई पनि असर गरिरहेको छ । अध्ययनहरुले पत्ता लगाए अनुसार कोलाहलका कारण सबैजसो प्राणी प्रजातिको व्यवहार परिवर्तन हुन्छ । ध्वनी प्रदुषणका कारण चराहरूले सबैभन्दा ठूलो समस्या भोगिरहेका छन् ।

चराहरू आफ्ना साथीहरूसँग कुराकानी गर्न चर्को स्वरमा गाउँछन् वा ठूलो आवाज निकाल्न थालेका छन । युरोप , जापान वा बेलायतका सहरहरूमा बस्ने तैसा चराहरू जङ्गलमा बस्ने तैसाभन्दा ठूलो स्वरमा गाउँछन् । सडक छेउमा बस्ने कीरा, फट्याङ्ग्रा र भ्यागुताको आवाजमा पनि परिवर्तन देखिएको छ । जसका कारण चराहरुबीच पटक – पटक गलतफहमी हुने गरेको छ । भाले चरालाई पोथी चरा भेट्टाउन गाह्रो हुन्छ ।

अत्याधिक आवाजका कारण कहिलेकाहीँ पोथी चरा भालेको नजिक आउन चाहँदैन् र यसले उनीहरूको प्रजननमा नकारात्मक असर पार्छ । कोलम्बियाको बोगोटामा भ्यागुताको आवाज अब कर्कश आवाजमा परिणत भएको छ ।  ध्वनि प्रदूषणका कारण चराहरूलाई मिलन, बच्चा हुर्काउन र खाना खोज्न समस्या भैरहेको छ । कोलाहलका कारण चराहरूको बासस्थान र उनीहरूको जीवनयापनमा नकारात्मक असर परेको छ ।

संयुक्त राज्य अमेरिकामा हालैका वर्षहरूमा आधाभन्दा बढी राष्ट्रिय निकुञ्जको ध्वनि प्रदूषण दोब्बर भएको छ । सडकबाहेक तेल तथा ग्यास उत्पादन, खानी आयोजना र काठ उद्योगले पनि ध्वनी प्रदूषण बढाइरहेका छन । यही कोलाहलका कारण चराहरू आफ्नो मौलिक ठाउँ छोडेर अन्यत्र जान बाध्य भएका छन् । यसले स्थानीय रूख तथा बोटबिरुवाको विकासमा पनि असर गरेको छ किनभने चराहरूले तिनका बीउ फैलाउन सकिरहेका छैनन् ।

प्रतिक्रिया