के आईपीएलमा इम्प्याक्ट प्लेयरहरू प्रभावकारी साबित हुँदैछन् ?

काठमाडाैं । आईपीएलको यहि १६ औं संस्करण देखि इम्प्याक्ट प्लेयर ( प्रभावकारी खेलाडी ) को नियम लागू भएको हो । प्रतियोगिता सुरु हुनुअघि नै यो नियमका बारेमा निकै चर्चा चलेको थियो ।
क्रिकेटको मौलिक रूप अन्तर्गत ११ खेलाडीले खेल्छन्, तर इम्प्याक्ट प्लेयरको नियमअनुसार कुनै पनि टिमले १२ औं खेलाडीलाई ध्यानमा राखेर रणनीति बनाउनुपर्छ । इम्प्याक्ट प्लेयरको उद्देश्य खेललाई थप रोचक बनाउनु हो । खेलका क्रममा फास्ट बलरलाई चोट लाग्ने खतरा बढि हुन्छ । धेरैजसो फास्ट बलरहरूले ब्याटिङ गर्दैनन्, त्यसैले उनीहरूको ठाउँमा कुनै नयाँ ब्याट्सम्यानलाइ समावेश गर्न सकिन्छ। बलरले आफ्नो खाताको ४ ओभर बल गरेपछि उनको ठाउँमा फुर्तिलो युवा खेलाडीलाई समावेश गर्न सकिनु नै यो नयाँ नियमको बिशेषता हो ।
अहिले अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरमा एकपछि अर्को सिरिज संचालनमा आइरहेका छन् । यस्तो अवस्थामा हरेक बोर्डले आफ्ना खेलाडीलाई लिएर कार्यभार व्यवस्थापनको नीति अपनाइरहेका छन । इम्प्याक्ट प्लेयर जस्तो नियममा खेलाडीले पूरा ४० ओभर खेल्नु पर्दैन।
आईपीएल जस्ता प्रतियोगितामा पाको उमेरका प्रसस्तै खेलाडी सहभागी हुन्छन् । चेन्नई सुपर किंग्सका खेलाडीको औसत उमेर ३२ वर्ष छ । इम्प्याक्ट प्लेयरको नियम चालीस वर्ष तर्फ लाग्ने खेलाडीहरूका लागि वरदान जस्तै हो । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले भनेका थिए, ‘प्रभावशाली खेलाडी हुनु कप्तानका लागि विलासिता हो।’ अर्कातर्फ इम्प्याक्ट प्लेयरसँगै कप्तानको समस्या पनि बढ्ने विश्वास गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले गरेका छन् ।
आईपीएलमा २० भन्दा बढी खेलाडी पाका छन्। प्रख्यात भारतीय र अन्तर्राष्ट्रिय खेलाडीहरू प्लेइङ इलेवनमा सामेल हुन्छन् भने युवा खेलाडीहरूले रिजर्भ खेलाडीको रूपमा रहनुपर्छ । उनिहरुले मैदानमा भएका खेलाडीहरुलाई एनर्जी ड्रिंक्स पुर्याउने, ब्याट–ग्लोभजस्ता सामान लिएर मैदानमा जाने, खेलाडी घाइते भए उसको ठाउँमा फिल्डिङ गर्ने जस्ता कामहरू गर्नुपर्छ । यद्यपि इम्प्याक्ट प्लेयरको नियम लागू भएपछि यसरी बेन्चमा बस्ने खेलाडीले पनि मौका पाउन सक्छन् ।
राजस्थान रोयल्ससँग बलियो ब्याट्सम्यानको फौज छ । तीमध्ये ध्रुव जुरेललाई मौका पाउन गाह्रो थियो । तर ५ अप्रिलमा पञ्जाब किंग्सविरुद्धको खेलमा ध्रुवलाई इम्प्याक्ट प्लेयरका रुपमा समावेश गरिएको थियो । स्पिन बलर युजवेन्द्र चहलले ४ ओभर बलिङ गरे । त्यसपछि उनको ठाउँमा ध्रुवलाई समावेश गरिएको थियो । उनले बाँकी ओभरमा फिल्डिङ गरे । ध्रुव ब्याटिङमा निस्कँदा राजस्थानलाई ३० बलमा ७४ रन आवश्यक थियो ।
लक्ष्य गाह्रो देखिन्थ्यो। ध्रुव जुरेलले अनुभवी शिम्रोन हेटमायरसँग राम्रो साझेदारी गरे । उनले १५ बलमा अविजित ३२ रन बनाए । राजस्थानले त्यो खेल पाँच रनले हारे पनि उसले ध्रुवका रूपमा राम्रो ब्याट्सम्यान पाएको थियो । इम्प्याक्ट प्लेयरको नियम नभएको भए सायद ध्रुवले अवसर पाउने थिएनन । त्यो राम्रो इनिङ्सको नतिजा अर्को खेलमा देखियो । राजस्थानले ध्रुवलाई प्लेइङ ११ मा समावेश गर्यो ।
यता इम्प्याक्ट प्लेयरको नियमले खेललाई ब्याट्सम्यान केन्द्रित बनाउँछ भन्ने धारणा पनि छ। टी–२० क्रिकेटमा टिममा थप ब्याट्सम्यान राख्दा उनीहरुको बल बढ्छ । यदि बलरलाई इम्प्याक्ट प्लेयरमा समावेश गरियो भने, उनको बलिङ पिटिने उच्च सम्भावना छ । जानकारहरु भन्छन्, ” टी–२० सबैभन्दा छोटो ढाँचा हो । यसमा टिम छनोट गर्दा उत्कृष्ट खेलाडहरु नै छनोट गरिन्छ। यदि गलत निर्णय भयो भने, त्यसबाट सिकेर अगाडि बढनुपर्छ।”
टेष्ट क्रिकेट पाँच दिनसम्म खेलिन्छ। पहिलो दिनको अवस्था पाँचौं दिनमा बदलिन सक्छ। त्यहाँ इम्प्याक्ट प्लेयर जस्तो नियम सहि साबित नहुन सक्छ। फुटबलमा खेलाडीलाई विकल्पका रूपमा समावेश गरिन्छ, तर क्रिकेटमा यो सजिलो छैन । यदि ब्याट्सम्यानले आफ्नो काम गरेको छ भने उसको ठाउँमा बलर आउँछन् । यो नियम बढ्दो उमेरका खेलाडीका लागि राम्रो साबित हुनेछ । आफ्नो काम पूरा गरेपछि उनीहरूको ठाउँमा अर्को खेलाडीले मौका पाउन सक्छ ।
यससँगै, इम्प्याक्ट प्लेयर युवा खेलाडीहरूका लागि राम्रो सुरुवात हो जसले प्लेइङ इलेवनमा पुग्ने मौका नपाउन सक्छन । यो नियम अन्तर्गत ब्याट्सम्यानलाई बलरको सट्टा टिममा समावेश गर्ने मात्र उद्देश्य छैन । खेलको टर्निङका लागि उपयुक्त समयमा आवश्यकता अनुसार खेलाडीलाई टिममा समावेश गर्ने विकल्प पनि यसमा छ । इम्प्याक्ट प्लेयर भनेको अन्तिम एघारमा समावेश भएको खेलाडीलाई बदलेर नयाँ खेलाडी समावेश गर्नु हो ।
कप्तानले टसका लागि फिल्डिङ लिने, त्यसपछि अन्तिम एघार र चार वैकल्पिक खेलाडीको नाम टिमको सुचिमा समावेस गर्न आवश्यक हुन्छ । प्रत्येक टिमले प्रभावकारी खेलाडीका रूपमा यी चार खेलाडीहरू मध्ये एकलाई मात्र समावेश गर्न सक्छन । इम्प्याक्ट प्लेयरलाई प्रत्येक इनिङ्समा १४ औं ओभर अघि लिन सकिन्छ । इनिङ्सको सुरुमा, ओभरको अन्त्य पछि, ब्याट्सम्यानले कुनै कारणले सन्यास लिएको खण्डमा इम्प्याक्ट प्लेयरलाई समावेश गर्न सकिन्छ।
यस बिषयमा कप्तान, प्रशिक्षक, टिम व्यवस्थापक तथा चौथो अम्पायरले मैदानका अम्पायरहरूलाई जानकारी दिन्छन्। त्यसपछि अनफिल्ड अम्पायरले दुवै हात उठाएर क्रस साइन गर्छन्। एकपटक इम्प्याक्ट प्लेयरले टिम ११ बाट खेलाडीलाई प्रतिस्थापन गरेपछि त्यो खेलाडीले कुनै पनि हिसाबले खेलमा भाग लिन सक्दैन। आईपीएलको नियम अनुसार चार विदेशी खेलाडीले अन्तिम एघारमा खेल्न पाउँछन् । यो नियम अनुसार इम्प्याक्ट प्लेयरमा स्थानीय तथा युवा खेलाडीको आवश्यकता बढि हुन्छ । अन्तिम एघारमा चार जनाभन्दा कम विदेशी खेलाडी खेलाउने टिमले इम्प्याक्ट प्लेयरका रूपमा विदेशी खेलाडी समावेश गर्न सक्छ ।
प्रतिक्रिया