चेन्नईले बेंगलोरलाई ८ रनले हरायो

नेपालखोज २०८० वैशाख ५ गते ६:१८

काठमाडाैं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को २४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै चेन्नई अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने बेंगलोर सातौं स्थानमा छ । जितका लागि २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन मात्र जोडन सक्यो ।

बेंगलोरका ग्लेन म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेलेपनि टिमलाई जिताउन सकेनन् । कप्तान फाफ डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए पनि तल्लोक्रमका ब्याटसम्यानहरु नचलेपछि बेंगलोर पराजित भएको हो ।

एक समय बेंगलोर १५-२ को खराब स्थितिमा थिय‍ो भने १२ ओभरमा १४१-२ को बलियो अवस्थामा पनि पुग्यो । १३ औं ओभरको पहिलो बलमा म्याक्सवेल आउट भएपछि बेंगलोरले लगातार विकेट गुमाएको थियो । त्यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।

चेन्नईको जितमा ओपनर डेभन कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । बेंगलोरका विजयकुमार वैश्यकले ४ ओभरमा ६२ रन खर्चेर १ विकेट लिए भने मोहम्मद शिराज, वेन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल तथा ग्लेन म्याक्सवेलले एक – एक विकेट लिए । चेन्नईले अब शुक्रबार सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ भने बेंगलोर बिहीबार पन्जाब किंग्ससँग भिडनेछ ।

प्रतिक्रिया