समयमा द्रुतमार्ग बन्ने प्रधानमन्त्रीको विश्वास

नेपालखोज २०८० वैशाख ५ गते १९:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै बन्ने विश्वास व्यक्त गरेका छन्। आज मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग (फास्ट ट्र्याक) को अवलोकन एवं निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्।

द्रूतमार्गमा बनिरहेको सुरुङको पनि अवलोकन गर्दा काम द्रुतगतिमा भइरहेको पाइएको प्रधानमन्त्री दाहालले जानकारी दिए। सरकारले सहजीकरणको पाटोमा कुनै कमी नराख्ने बताउँदै जनभावना अनुरुप निर्माण प्रक्रिया भइरहेको पाएको उनले जनाए । नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएर सही निर्णय गरेको महसुस भएको उनको भनाइ छ ।

निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले आयोजनाको अहिलेसम्मको उपलब्धिबारे जानकारी लिए । ‘हिजो मात्रै काठमाडौँमा ब्रिफिङ भएको थियो । हामी आज निरीक्षणमा आएका छौँ । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेलभित्र गएर पनि हेर्यौँ । ठूलो टनेल बन्दै छन्’, उनले भने । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले यस आयोजनासँग सम्बन्धित कतिपय निर्णय गरिने जनाए।

उनले भने, ‘द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्नेछ ।’ आयोजनाको जिम्मेवारी आफू प्रधानमन्त्री हुँदा नेपाली सेनालाई दिएको समेत उनले स्मरण गर्दै राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानलाई कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको जनाए। प्रधानमन्त्री दाहालले आज नेपाली सेनाको हेलिकप्टरबाट मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–५, राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयवासीको गुनासो र जिज्ञासा सुनेका थिए ।

तराईलाई सङ्घीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । द्रुतमार्ग बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ । प्रधानमन्त्रीले मकवानपुरको बकैया गाउँपालिकाको लेनडाँडा र राजदमार तथा भीमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गरे ।

अवलोकनमा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शङ्करदास वैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौँलाई तराई, मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रूपमा लिइएको छ ।

प्रतिक्रिया