आईपीएल : घरेलु मैदानमै हर्‍याे हैदराबाद

नेपालखोज २०८० वैशाख ६ गते ६:३०

काठमाडाैं । सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौं औं स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो । मुम्बईका तीव्र गतिका बलर जेसन बेहर्नडोफले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

राइली मेरीडिथले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । अर्जुन तेन्दुलकर र क्यामरन ग्रीनले समान एक विकेट लिए । हैदराबादका ओपनर मयंक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए । हैदराबादलाई जितका लागि ४२ बलमा ८७ रन चाहिँएको थियो । स्पिनर पियुष चवालालाई हेनरिक क्लासेनले १३ औं ओभरको दोस्रो बलमा चौका, तेस्रो, चौथो बलमा छक्का र पाँचौं बलमा चौका हानेपछि खेल रोचक बनेको थियो ।

तर अन्तिम बलमा क्लासेन ठूलो सट खेल्ने धुनमा लङअनमा टिम डेविडबाट क्याच आउट भए । क्लासेनको विकेट मुम्बईको जितको टर्निङ प्वाइन्ट बन्यो । आक्रामक ब्याटिङ गरेका क्लासेन १६ बलमा ४ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । अन्तिम १२ बलमा हैदराबादलाई जितका लागि २४ रन चाहिँएको थियो । क्यामरन ग्रीनले १९ औं ओभरमा ४ रन मात्र दिएपछि मुम्बई जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा जितको लागि २० रन चाहिँएको थियो । सचिनका छोरा अर्जुन तेन्दुलकरले पाँचौं बलमा भुवनेश्वर कुमारलाई रोहित शर्माबाट क्याच गराउँदै खेल समाप्त गरे ।

त्यसअघि राजिव गान्धी अन्तर्राष्ट्रिय रंगाशाला हैदराबादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । मुम्बईका युवा अलराउन्डर क्यामरन ग्रीनले ४० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनको अविजित इनिङ खेलेका थिए । उनको यो आइपिएलको पहिलो अर्धशतक हो । गत डिसेम्बरमा आइपिएल अक्सनमा मुम्बईले ग्रीनमाथि धनको वर्षा गर्नेक्रममा १७ करोड ५० लाख भारु (२८ करोड नेपाली रुपैयाँ) खर्चेर ग्रीनलाई किनेको थियो । सुरुवाती खेलमा भने ग्रीन चल्न सकेका थिएनन् ।

चौथो विकेटका लागि ग्रीन र तिलक बर्माले २८ बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । सानदार प्रदर्शन गर्दै आएका युवा बायाँ हाते खेलाडी तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्कासहित ३७ रन जोेडे । हैदराबादका युवा तीव्र गतिका बलर मार्को यानसनले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए भने टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।

प्रतिक्रिया