‘सैनिक आचार संहिता कार्यक्रम–२०८०’ शुभारम्भ

काठमाडौं । ‘सैनिक आचार संहिता कार्यक्रम–२०८०’ शुभारम्भ भएको छ । नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गरी अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राखीरहने एवं सैनिक आचार संहिता संग्रह–२०७६ मा उल्लेखित विषयहरुमा प्रशिक्षित गर्ने उद्देश्य अनुरुप बैशाख पाँच गते मंगलबार देखि बैशाख छ गते बुधबारसम्म संचालन हुने दुई दिवसीय सैनिक आचार संहिता कार्यक्रम–२०८० को मंगलबार बलाध्यक्ष रथी सिताराम खड्काले शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बलाध्यक्ष रथी खड्काले सैनिक आचार संहिता कार्यक्रम–२०८० बाट नेपाली सेनाको सबै तहका कमाण्डर लगायत तल्लो तहसम्म आचार संहिताबारे ज्ञान अभिवृद्धि हुनुका साथै एक आपसमा विश्वासको वातावरण श्रृजना भई नेपाली सेनाका सकलदर्जालाई अझै अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सोही क्रममा, वहाँले संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच र प्रभावकारी ढंगबाट बहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशिल बनाउन अपरिहार्य रहेको बताउँदै सकल दर्जाले आफ्नो आचरण मर्यादित र व्यवसायिक बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरु सबैले स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रहि कार्यसम्पादन गर्न अपरिहार्य रहेको बताए ।
नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको सहभागिता रहेको सो कार्यक्रम मिति २०८० बैशाख ०६ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट समापन हुनेछ ।

प्रतिक्रिया