प्रधानमन्त्री दाहालले गरे चुम शताब्दी श्याग्या महोत्सवकाे शुभारम्भ

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ ।
‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा सुरु भएको महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरे । चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुने अध्यक्ष लामाले जानकारी दिए ।
विसं १९७७ को बुद्धजयन्तीका अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरी सामूहिक प्रतिबद्धता गराएको र त्यस समयदेखि नै चुमबासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए ।
अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुँदैन । महोत्सवले चुमबासीहरुको सामाजिक सांस्कृतिक एकतालाई थप मजबुत बनाउनाका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुर्याउने र सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त अध्यक्ष लामाको छ ।
महोत्सव सम्पन्न गर्न लागि करिब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब रु ४५ लाख सङ्कलन गरिएको मूल समारोह समितिका अध्यक्ष लामाले जानकारी दिए । चुम उपत्यकामा हरेक वर्ष करिब एक हजार पाँच सयभन्दा बढी विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि चुम उपत्यका पुग्ने क्रम पछिल्लो समय बढ्दै गएको उनले बताए ।

प्रतिक्रिया