अमेरिका र पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका–४ चपुरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको जानकारी प्रहरीले दिएको छ ।
त्यस्तै, पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनीप्रलोभनमा पारी १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– १३ ताहाचलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरकाठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया