आइतबार, वैशाख २८, २०८२

छोराको आसमा कर्णालीमा गैरकानुनी गर्भपतनको भयावह

नेपालखोज २०८० वैशाख ७ गते ८:२५

सुर्खेत । कालिकोटकी मनमाया बुढा (परिर्वतित नाम) यहीँ चैत्र २० गते भारतबाट नेपाल फर्किइन्  । केही समय अघि मनमाया र उनका श्रीमान् रोजगारीका लागि भारत गएका थिए । तर, उनी नेपाल फर्किदा एक्लै थिए ।

स्वदेश एक्लै फर्कनुमा उनको उद्देश्य थियो पेटमा भएको सन्तानको लिङ्ग पहिचान गर्ने । उनको सोच थियो छोरा भए सन्तानको जन्मदिने र छोरी भए गर्भपतन गर्ने ।

भारतबाट नेपालगन्ज पुगेका बुढाले छोरा वा छोरी भनेर जाँच्नका लागि डाक्टर कहाँ गइन्। डाक्टरले जाँच्नका लागि श्रीमान् सँगै हुनुपर्ने बताएपछि उनले श्रीमान साथमा नभएको बताए । श्रीमानसँगै नभए केही गर्न नमिल्ने भन्दै डाक्टरले उनलाई फर्काइदियो । त्यसपछि पेटमा भएको बच्चाको पहिचानको लागि मनमाया सुर्खेत पुगिन् ।

सुर्खेतमा रहेका दिदी भिनाजुलाई नेपालगन्जको सम्पूर्ण घटना सुनाएपछि आफ्नै भिनाजुलाई श्रीमान् बनाएर सुर्खेतस्थित नर्सिङ होममा पुगिन् मनमाया । पहिलो सन्तान छोरी भएकाले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिनुपर्ने घरपरिवारको चाहना थियो ।

नर्सिङ होममा मनमायाको गर्भ जाँच भयो । गर्भमा छोरी रहेको जानकारी मनमायालाई दिएपछि निराश हुँदै त्यो दिन दिदीभिनाजुको घर फर्किएको मनमायाले बताइन् । अर्को दिन उनले गर्भपतन गराइन् । मनमायाले भनिन्– ‘श्रीमान र परिवारलाई छोरी चाहिएको छैन । एक छोरी एक छोरा बनाउने इच्छा घर परिवारको छ । भारतमा चेक गर्न नपाएपछि यसकै लागि नेपाल आएकी हुँ ।’

परिवारको मन्जुरी बिना गर्भपतनका लागि केही आमाहरू यस्ता नर्सिङ होम जान डराउँछन् ।  केही आमाहरू भने छोराकै अभिलाषाले छोरी त्याग्न बाध्य हुन्छन् । केही आमाहरू परिवारको निर्देशन भएको भन्दै चुपचाप छोराको आशामा गर्भपतन गराउन आउने गरेको चिकित्सकहरूको भनाई छ ।

आफ्नो पहिचान दिन नचाहने एक चिकित्सकका अनुसार– ‘कर्णालीका ग्रामीण भेगमा दुई तीनवटा सन्तानकोरुपमा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन, परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन आमाहरू बाध्य हुने गरेका छन् ।’

छोराकै आशमा सात छोरी छोराकै आशामा छोरीहरू जन्माइदिनुपर्ने अवस्था कर्णालीमा प्रशस्त भेटिन्छ । छोराकै आसमा आठ देखि दश वटा छोरीसम्मलाई जन्मदिनुपरेको घटना कर्णालीमा निकै छ । जसले गर्दा छोरीहरू कुपोषित हुने, जन्मजात अपाङ्ग हुने समस्या हुने गरेको छ ।’ छोरो मोह कतिसम्म छ भने, आठविसकोट नगरपालिका– ७ की एक महिलालाई चौथो छोरी जन्मिएपछि घरपरिवारले दुहुनु भैंसी बेचेर पाँचौं गर्भको लिङ्ग पहिचान गर्न नेपालगञ्ज पुर्याए । छोरी नै देखिएपछि भारतको रुपैडिया लगेर गर्भपतन गराएको उनले सुनाइन् ।

छोरो नजन्माउने आमाले कस्तोसम्म हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन्, दैलेखको ठाटीकाँध गाउँपालिका- २ कि ४५ वर्षीया पानसरा (परिवर्तित नाम)  । लगातार सात वटी छोरीलाई जन्म दिएकी पानसरा र उनका श्रीमानको छोरा पाउने धोको मरेन । छोरी जन्माइ रहिनन् ।  आठौँमा छोरा पाएपछि अहिले यो दम्पतीले अन्य सातवटा छोरीलाई खासै वास्ता नगरेको स्थानीय लालवीर बिक बताउछिन् ।

पहिले छोरा नपाउँदा छोराकै आसमा सात वटा छोरी जन्माएको लालवीरे भने । छोरा नपाउँदा साँझ बिहान मानसिंहकी श्रीमतीले दुर्व्यवहार सहनुभयो । छोरा पाउने आशमा सात जना छोरी जन्माइसकेपछि अहिले एउटा छोरो भएको छ  ।

माथिका यी दुई घटना प्रतिनिधि घटना मात्र हुन् । कर्णाली क्षेत्रमा छोरालाई जन्मदिन नसकेको भन्दै बहुविवाह गर्ने घटना पनि बढ्दो अवस्थामा छ ।

कर्णालीका दुर्गम ग्रामीण भेगहरूमा छोरा जन्माउन नसके विभिन्न दुर्व्यवहार सहँदै आउनुपर्ने कालिकोट कि जसु ( परिवर्तित नाम) बताउछिन् । पहिले दुई छोरी जन्माए । तर, पनि गाउँमा छोरालाई जन्मदिन नसकेको भन्दै विभिन्न किसिमका दुर्व्यवहार सहनु परेको थियो । सोही कारण श्रीमानले दोस्रो विवाह गरे । अर्कीबाट अहिले एउटा छोरा भएको छ । ‘छोरा जन्माउन नसक्ने भन्दै अहिले पनि श्रीमानसँग मेरो सम्बन्ध राम्रो छैन’ उनले भनिन्।

जाजरकोटको नलगाड नगरपालिका– ८ की  ४५ वर्षीया महिलाले पनि छोराको चाहनामा पटकपटक गर्भपतन गराइन् । चार छोरीलाई जन्म दिएपछि उनले छोरा जन्माउने चाहनामा लिङ्ग पहिचान गरिन् ।  छोरी भएको थाहा पाएपछि गर्भपतन गराइन्।

गाउँमा साहुबाट ऋण काढेर सुर्खेतमा गर्भपतन गराएकी उनको झण्डै ज्यान गएन । गर्भपतनपछि अत्यधिक रक्तस्राव हुँदा नेपालगञ्ज लगेर उनको उपचार गरियो । उनले भनिन्– ‘मेरो श्रीमान एउटै छोरा हुन् । वंश बचाउन छोरा नै चाहिन्छ भन्ने सासूससुराको दबाब थियो । सासूको दबाबमा श्रीमानले पनि छोरा चाहिन्छ भन्नुभयो ।’ 

लिङ्ग पहिचान गरेर छोरीलाई विभेद गर्ने समाज दोषी रहेको अधिकारकर्मी शाही बताउछिन् । उनका अनुसार अहिले पनि महिलाले छोरा नजन्माए घरपरिवार र समाजबाट अपहेलित हुनुपर्छ, तिरस्कृत बन्नुपर्छ ।

छोरो मोह कतिसम्म छ भने, आठविसकोट नगरपालिका– ७ की एक महिलालाई चौथो छोरी जन्मिएपछि घरपरिवारले दुहुनु भैंसी बेचेर पाँचौं गर्भको लिङ्ग पहिचान गर्न नेपालगञ्ज पुर्याए । छोरी नै देखिएपछि भारतको रुपैडिया लगेर गर्भपतन गराएको उनले सुनाइन् ।

‘छोरो नभए समाजले विभिन्न आरोप लगाउँछ । वंश जोगाउन पनि छोरो चाहिन्छ भन्छन्, तर यो पटक जँचाउँदा पनि गर्भमा छोरी रहिछ अनि गर्भपतन गराएर आएँ’, उनले भनिन्।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुको मुख्य कारण समाजको सोच रहेको मानवअधिकारकर्मी टीका विष्ट बताउछिन्  । गर्भमा छोरा वा छोरी भएकै कारण पतन गर्नु गैरकानूनी र असामाजिक कार्य हो’, उनले भनिन्, । खासमा अधिकांश आमालाई नै छोराको मोह हुन्छ । पितृसत्तात्मक सोच यतिविघ्न हावी छ कि समाजलाई छोरा नभई भएको छैन । अनि आमाहरू पनि छोरा चाहन्छन् ।’

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने कानुनी व्यवस्था छ । गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ ।

कर्णाली प्रदेशमा आर्थिक अवस्था मजबुत हुने महिलाले नेपालगञ्ज र भारतका निजी अस्पतालहरूमा पुगेर लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउने गर्छन् । भारतको रुपैडिया, नेपालगञ्ज र सुर्खेतका केही निजी अस्पताल र नर्सिङ होमहरूमा लिङ्ग पहिचान र गर्भपतन गराउने गरिन्छ ।  सामान्यतया कर्णालीका मानिसहरू सुर्खेतमा गर्भपतन गराउँदैनन् । तर, नेपालगञ्ज र भारतका विभिन्न निजी अस्पतालहरूमा पुगेर लिङ्ग परीक्षण गरी छोरी भए गर्भपतन गराउने क्रम बढ्दो रहेको कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ललितजंग शाही बताउछन् ।

महिला अधिकारकर्मी पवित्रा शाही यसलाई कहालीलाग्दो अवस्था मान्छिन् । उनका  अनुसार– ‘छोरा नभए सौता बेहोर्नुपर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनुपर्ने लगायत बाध्यताले कर्णालीका महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने गरेको छ ।’

यस बाहेक महिला र बच्चाको स्वास्थ्य अवस्था ख्याल गरेर कानुनतः अनुमति प्राप्त सुरक्षित गर्भपतन गराउनेहरूको संख्या पनि यहाँ बढ्दो छ । कर्णालीमा आर्थिक वर्ष २०७६/७७ मा ५ हजार २३५, २०७७/७८ मा ४ हजार ८८८ र २०७८/ ७९ मा ४ हजार ८६० जनाले सुरक्षित गर्भपतन गराएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । सुर्खेतमा सबैभन्दा धेरै गर्भपतन गराउने गरिएको तथ्यांकमा देखिन्छ । Source – INS

प्रतिक्रिया