एसीसी प्रिमियर कप : आज नेपालको खेल

काठमाडौँ । नेपालले आज शुक्रबार एसिसी प्रिमियर कपमा आफ्नो दोस्रो खेल ओमानसँग खेल्दैछ । आ – आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेका दुबै देस आफ्नो जितलाई निरन्तरता दिँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लने योजनाका साथ त्रिवि क्रिकेट मैदानमा उत्रिनेछन् । समूह ए को यो खेल नेपाल र ओमान दुबैकालागि निकै महत्वपूर्ण हुनेछ । दुबै देस यो खेलमा विजयी भएर समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बनाउन चाहन्छन् भने दुबै देस यो प्रतियोगिताको उपाधिका प्रवल दाबेदार पनि हुन ।
तसर्थ ओमान र नेपालबीचको यो खेल निकै रोचक एवम् प्रतिस्पर्धात्मक हुने अनुमान छ । लिग–२ अन्तर्गतको विश्वकप छनौटमा शीर्ष तीन भित्र रहँदै जिम्बाब्बेको यात्रा तय गरेका दुई राष्ट्र नेपाल र ओमानबीचको यो भिडन्तलाई फाइनलसरह पनि मानिएको छ । नेपालले ओमानविरुद्ध खेलेको विश्वकप लिग–२ को खेलमा सबै ४ खेल हारेको थियो । प्रतियोगिताको दावेदार मानिएको ओमान र नेपाल अहिलेसम्म ओडिआई क्रिकेटमा ६ पटक भिडेका छन् । जसमा नेपालले २ खेलमा जित दर्ता गरेको छ । टी–२० मा भने नेपालले ओमानविरुद्धका ४ खेल मध्ये ३ खेलमा विजय हासिल गरेको छ । नेपालले पछिल्लो समय बलिङमा कमजोर प्रदर्शन गर्दै आएको छ । मलेसियाले नेपालविरुद्ध २ सय ३५ रन बनाएको थियो । आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा अघिल्लो महिना युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो । आजको खेलमा ओपनरमा आसिफ शेख र कुशल भुर्तेलले निरन्तरता पाउनेछन् ।
नेपाल कुशलबाट आक्रामक र आसिफबाट ठूलो इनिङ चाहन्छ । तेस्रो नम्बरमा भीम सार्कीले खेल्नेछन् । भीमले लगातार परिपक्क प्रदर्शन गर्दै आएका छन् । । चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । ओडिआई मान्यता प्राप्त खेल नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त देस हुन भने यो नेपालका लागि ५० औं एकदिवसीय मान्यता प्राप्त खेल हो । आजको यो प्रतिस्पर्धाले पनि ओडिआई मान्यता प्राप्त गरेको छ । प्रतियोगिताका अन्य खेलको मान्यता भने सामान्य ‘५०-अोभर खेल’को मात्र रहँदै आएको छ । नेपालले हालसम्म ७ देशसँग ४९ वटा ओडिआई खेल खेलेको छ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म खेलेका ओडिआई मध्ये २६ मा जित, २१ मा हार, १ मा टाई तथा १ खेलमा नतिजा बिहीन रहेका थिए ।
नेपालले अहिलेसम्म ७ वटा देशसँग ओडिआई खेलेको छ । नेपालले आफ्नो ४९ ओडिआई मध्ये आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल सिरिजका रुपमा र एक खेल प्रतियोगितामा खेलेको हो । नेपालले ओडिआईमा सर्वाधिक धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ । नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ भने नेदरल्यान्ड्ससँग दुई वटा ओडिआई खेल खेलेको छ ।

प्रतिक्रिया