नेपालको ओडिआई यात्रा

काठमाडौं । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले आज एसीसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औँ ओडिआई खेल खेल्दै छ । यस अघि नेपालले ४९ वटा ओडिआई खेलिसकेको छ ।
नेपालले २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । नेपालले हाल सम्म खेलेका ४९ वटा ओडिआई मध्ये २६ मा जित तथा २१ मा हारको नतिजा निकालेको छ । यसै गरी एक खेल टाई र एक खेल नतिजा विहीन रहेका थिए ।
नेपालले युएईसँग १३, पपुवा न्युगिनीसँग १०, ओमान, नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६ ओडिआई खेल खेलेको छ भने नेदरल्यान्ड्ससँग २ वटा ओडिआई खेलेको छ । नेपालले ओडिआईमा ७ वटा देशको सामना गरिसकेको छ । नेपालले खेलेका ४९ वटा ओडिआई मध्ये आइसिसी विश्वकप लिग–२ मा ३६ खेल खेलेको थियो भने बाँकी १२ खेल सिरिजका रूपमा र एक खेल प्रतियोगिताका रूपमा खेलेको थियो ।
नेपालले ओडिआईमा सर्वाधिक धेरै युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ ओडिआई खेलेको छ। नेपालले नामिबियासँग खेलेको ६ ओडिआई मध्ये २ जित , ३ हार बेहोरेको छ भने एक खेल वर्षाका कारण नतिजा विहीन रह्यो । नेदरल्यान्ड्ससँगको दुई ओडिआई मध्ये एक जित र हार भएको थियो । यसै गरी ओमानसँगको ६ ओडिआई मध्ये २ मा जित र ४ मा हारको रेकर्ड छ ।
यता पपुवा न्युगिनीसँग नेपालले १० ओडिआई खेलेकोमा ८ मा जित र २ मा हार दर्ता गरेको छ । स्कटल्यान्डसँगको ६ ओडिआईमा ३ – ३ को बराबरी छ भने युएईसँगको १३ खेलमा ७ मा जित र ६ मा हारको रेकर्ड छ । अमेरिकासँग नेपालले ६ ओडिआई खेलेकोमा ३ मा जित, २ मा हारको नतिजा निकालेको छ भने एक खेल टाई भएको थियो । नेपालले पपुवा न्युगिनी र युएईसँग समान दुई सिरिज खेलेको छ ।
२०१९ मा नेपालले युएईलाई उसकै भूमिका तीन ओडिआईको सिरिज २–१ ले हराएको थियो । नेपालले गत वर्ष घरेलु मैदानमा युएईलाई २–१ ले हराएको थियो । २०१८ को एसिया कप क्वालिफायरमा नेपाल र युएई बिच एक खेल भएको थियो । नेपालले २०२१ मा ओमानमा भएको दुई खेलको सिरिजमा पपुवा न्युगिनी विरुद्ध क्लिनस्विप गरेको थियो । २०२२ मा भने नेपाल पपुवा न्युगिनीको घरेलु मैदानमा भएको दुवै खेलमा पराजित भएको थियो ।
ओडिआईमा नेपालका तर्फबाट ४ जनाले कप्तानी गरिसकेका छन् । जसमध्ये पारस खड्काले ६, ज्ञानेन्द्र मल्लले १०, सन्दीप लामिछानेले १४ तथा रोहित पौडेलले १९ ओडिआई खेलमा कप्तानी गरेका थिए ।

प्रतिक्रिया