कुशलको १० वटा छक्काले बनाएको रेकर्ड

नेपालखोज २०८० वैशाख ८ गते १५:४०

काठमाडौं । बायाँ हाते युवा ब्याटस्म्यान कुशल मल्लले आज ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विस्फोटक शतकीय इनिङ खेले । यस सँगै कुशल कुनै एउटा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छक्का हान्ने नेपाली खेलाडी भएका छन् ।

कुशलले एसीसी प्रिमियर कपको ओडिआई मान्यता प्राप्त उक्त खेलमा छक्काको वर्षा गर्दै १० वटा छक्का हानेका थिए । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी पारस खड्का र ज्ञानेन्द्र मल्लले एउटै खेलमा ९- ९ वटा छक्का प्रहार गरेका थिए ।

ज्ञानेन्द्रले २०१९ को १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्धको टी २० आईमा ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै पारस खड्काले २०१९ मा सिंगापुरविरुद्धको टी २० आईमा ५२ बलमा ७ चौका र ९ छक्कासहित १ सय ६ रन बनाएका थिए ।

२०२१ मा करण केसीले टी २० आईमा मलेसियाविरुद्ध १३ बलमा ७ छक्कासहित ४५ रन बनाएका थिए । दीपेन्द्रले मलेसियाविरुद्ध ७ छक्का हान्दै १ सय १० रन बनाएका थिए । ओडिआईमा यसअघि एउटै खेलमा ४–४ वटा छक्का प्रहार गर्ने खेलाडी रोहित पौडेल, कुशल भुर्तेल तथा कुशल मल्ल हुन ।

ओडिआईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने कीर्तिमान इंग्ल्यान्डका ओईन मोर्गनको नाममा छ । मोर्गनले २०१९ को एक दिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध १७ वटा छक्का हानेका थिए । त्यसपछि रोहित शर्मा, एवि डिभिलियर्स र जसकारण मलहोत्राको नाममा समान १६ छक्का रेकर्ड छ ।

प्रतिक्रिया