‘बालश्रम अन्त्य गर्न ट्रेड युनियन कांग्रेस लागेको छ’

काठमाडाैं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले बालश्रम अन्त्यका लागि ट्रेड युनियन कांग्रेस लागेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘बाल श्रम न्यूनीकरणसम्बन्धी विचार गोष्ठी’मा उहाँले बालश्रम अन्त्य गर्न ट्रेड युनियन कांग्रेसले विभिन्न अभियान सञ्चालन गरेको बताए ।
‘ट्रेड युनियन कांग्रेसले विगत एक दशकदेखि बाल श्रमिकलाई निःशुल्क अनौपचारिक स्कुल सञ्चालन गरी शिक्षा दिँदै आएको छ’, उनले भने । अध्यक्ष आचार्यले हालसम्म विभिन्न नौ जिल्लाका १० हजार बाल श्रमिकलाई निःशुल्क शिक्षा प्रदान गरिसकेको बताए । ट्रेड युनियन कांग्रेसले अनौपचारिक स्कुलमा अध्ययन गरेका विद्यार्थी र अनौपचारिक क्षेत्रको श्रमिकका बेरोजगार छोराछोरलाई निःशुल्क रोजगारमूलक तालिम एवं विभिन्न सरोकारवाला निकायलाई सचेतना र दबाब अभियान गर्दै आएको उनको भनाइ छ ।
ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले नेपालमा अझै पनि ११ लाख बालबालिका बालश्रमको रेखामुनि रहेको बताए । ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य पुण्य भट्टराई, नेपाल गलैँचा श्रमिक सङ्घका अध्यक्ष बुद्ध लामा, गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानका महासचिव सूर्य नेपाललगायतले बालश्रम अन्त्य गर्न राज्यले विषेश नीति र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा ट्रेड युनियनको विभिन्न संरचनामा निर्वाचित प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई बधाई एवं सम्मान गरिएको थियो । रासस
प्रतिक्रिया