डिमेन्सियाबाट जोगिने ७ उपाय

हामीलाई अझै पनि अल्जाइमर जस्ता धेरै स्नायु प्रणाली सम्बन्धी रोगहरूको कारण थाहा छैन । यद्यपि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले व्यायाम, सन्तुलित आहार एवं मानसिक तन्दुरुस्ती कायम रहे यसबाट जोगिन सकिने बताएको छ ।
तौल घटाउनु
मोटोपन डिमेन्सियाको विकासको प्रमुख कारण हो तसर्थ, तौल घटाउनुका साथै नियमित व्यायामको माध्यमबाट रक्तसञ्चार सुधार गर्नाले मेटाबोलिज्ममा सुधार आउनुका साथै डिमेन्सियालाई पनि रोक्छ।
स्वस्थकर खाना
सलाद तथा तरकारीबाट प्राप्त हुने फ्याटले रक्त नलीमा सकारात्मक प्रभाव पार्छ । यसले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ भने डिमेन्सियाको सम्भावना पनि उच्च कोलेस्ट्रोल भएका मानिसहरूको तुलनामा कम हुन्छ।
गतिशीलता आवश्यक
शारीरिक क्रियाकलापले रक्त नलीहरूलाई सक्रिय राख्छ र त्यसैले डिमेन्सिया विरुद्ध काम गर्छ । सक्रिय जीवनले स्नायु प्रणालीमा प्रत्यक्ष प्रभाव पार्छ । यो प्रणालीले सम्पूर्ण शरीरलाई नियन्त्रण गर्छ र स्मरण शक्तिलाई पनि सुरक्षित राख्छ।
धूम्रपानबाट टाढा
चुरोट पिउनेहरूलाई थाहा हुन्छ कि यसलाई छोड्न कति गाह्रो छ ? तर यो सत्य हो कि निकोटिन स्नायु प्रणालीका लागि विष जस्तै हो । यसले रक्तसञ्चारलाई असर गर्छ किनभने मस्तिष्कमा कम अक्सिजन पुग्न थाल्छ । यसले स्पष्ट रूपमा डिमेन्सियाको जोखिम बढाउँछ।
मदिरा पानको त्याग
रक्सी एक स्नायु एजेन्ट हो, यसको अर्थ यसको अत्यधिक मात्राले मस्तिष्कलाई प्रत्यक्ष असर गर्छ । थोरै मात्रामा पिउँदा पनि यसले डिमेन्सियाको जोखिम बढाउँछ। यसले शरीरका अत्यावश्यक अङ्गहरूलाई पनि क्षति पुर्याउँछ ।
रक्तचापमा नियन्त्रण
डिमेन्सियाबाट जोगिने एउटा उपाय भनेको रक्तचापलाई सीमाभित्र राख्नु हो। खेल खेल्दा रक्तचाप कम रहन्छ । यदि यसले काम गर्दैन भने, औषधि खाएर पनि बिपीलाई नियन्त्रित दायरामा राख्न सकिन्छ ।
मानसिक कसरत
मस्तिष्कलाई कुनै पनि हिसाबले सक्रिय राख्नु महत्त्वपूर्ण छ । यसका लागि नयाँ चीजहरू नै गर्नु पर्छ भन्ने छैन । समाजका मानिसहरूसँग सम्पर्क कायम राख्नु , भेटघाट एवं कुराकानीहरू गर्नु महत्त्वपूर्ण हुन्छ । यसबाट स्मरण शक्ति सही रहन्छ र सम्बन्ध पनि कायम रहन्छ। – एजेन्सी

प्रतिक्रिया