धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

बाँके । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो ।
ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने गरी पर्यटनमार्गको परिकल्पना गरिएको हो । उक्त पर्यटनमार्ग राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुर्याउने योजना छ ।
कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थल हुँदै गाभर क्षेत्रमा रहेको पारिजात बगानसम्म पुर्याउने गरी मार्ग तय गरिएको छ । उक्त मार्ग निर्माणलाई योजनाबद्ध तरिकाले अगाडि बढाउन मदन भण्डारी धार्मिक पर्यटनमार्ग संरक्षण तथा प्रवर्द्धन समिति समेत गठन भैसकेको छ ।
जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्ग निर्माणको योजना बनाएर काम सुरु गरिएको हो । कतिपय ऐतिहासिक मठमन्दिरको संरक्षण नहुँदा जीर्ण भएका छन् भने प्रचारप्रसार नहुँदा जिल्लावासीलाई धार्मिक पर्यटकीयस्थल बारे जानकारी छैन । पर्यटनमार्ग निर्माण पश्चात् त्यस्ता धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।
यो पर्यटनमार्ग निर्माण गरे एकैपटक धेरै धार्मिकस्थलहरु अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकरात्मक भूमिका निर्वाह गर्नेछ । धार्मिक पर्यटनमार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँ–गाउँसम्म पुर्याउनुका साथै समाजलाई बुझ्ने अवसर समेत प्रदान गर्ने स्थानीयहरु बताउँछन् ।
बाँकेका ग्रामीण क्षेत्रमा सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत धार्मिक क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन् भने नेपालगन्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया