मंगलबार, जेठ १, २०८१

मिठाईदेवी बिश्वकर्मालाई बद्री पहाडी समाजसेवा पुरस्कार

नेपालखोज २०८० वैशाख १० गते १२:३४

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७९ मिठाईदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

झन्डै सात दशकदेखी सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको महत्त्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाईदेवी विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२०८० मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने छ ।

वि.स.१९९३ फागुन १० गते इन्द्रचोक काठमाडौंमा जन्मनुभएकी मिठाईदेवी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुनुहुन्छ ।

पशुपतिनाथ मन्दिरमा ‘कुकुर र अछुतलाई प्रवेश निषेध’ गरिदै आएकोमा त्यसको विरोध गर्दै वि.स २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रुपमा सहभागी हुनुभएको थियो ।

युवा अवस्थामै वि.स २०१२ सालमा उनले नेपाल परिगणित नारी सङ्घको स्थापना गरी सो संस्थामार्फत काठमाडौँको दलित बस्तीमा विद्यालय स्थापना गरीन र दलित समुदायका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिनुभयो ।

नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि सङ्घर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गर्नुभएकी मिठाईदेवीले टी.आर. विश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उनको सक्रियता अझ बढेर गयो ।

उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।

मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।

श्री विश्वकर्माले पत्रकारिताको क्षेत्रमा पनि योगदान गर्नुभएको छ र विभिन्न साप्ताहिक तथा मासिकको सम्पादन गर्नुभएको छ । स्रष्टा विश्वकर्माको ‘नेपाली नारीको अवस्था र अवस्थिति २०६१’ नामक पुस्तक प्रकाशित छ भने अन्य थुप्रै लेख रचना प्रकाशित छन् ।

प्रतिक्रिया