बिहीबार, वैशाख १३, २०८१

स्वदेश गान !

केशव आचार्य २०७८ असोज २ गते ७:००


अग्ला हिमाल, सुन्दर ताल।
नाँची रहने, डाँफे मुनाल।
युगौंदेखि, सदा स्वतन्त्र,
अखण्ड हाम्रो, देश नेपाल।।

जाति अनेक, अनेक भाषा।
सदा हरित, पहाड पाखा।
सानो छ देश, छाती विशाल,
अखण्ड हाम्रो, देश नेपाल।।


मन्दिर गुम्बा, अति मिलेका।
आपसी मैत्री, भाव खुलेका।
धुन हजारौं, एकै छ ताल ,
अखण्ड हाम्रो, देश नेपाल।।


तराई फाँट, सधैं मलिलो।
हिमाली हावा, मीठो रसिलो।
छ्ङ्छ्ङ् झर्ना, कन्चन छाल,
अखण्ड हाम्रो, देश नेपाल।।


सौन्दर्य यस्तो, सदा बहार।
प्रकृति उस्तै, छटा हजार।
सृष्टिको यस्तो, दिव्य कमाल,
अखण्ड हाम्रो, देश नेपाल।।


वीर साहासी, छौं एक-एक।
गौरव गाथा, हाम्रा अनेक।
शत्रुका लागी, हौं महा-काल,
अखण्ड हाम्रो, देश नेपाल।।

प्रतिक्रिया