‘तपाईंका कार्यकर्तालाई सम्झाइदिनुस्’

चितवन । चितवनमा- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका रवि लामिछानेले उपनिर्वाचनका क्रममा उम्मेदवार र कार्यकर्तालाई सम्झाइदिन प्रमुख दलका शीर्ष नेतालाई अपिल गरेका छन् ।
मतदान जारी रहेकै बेला सामाजिक सञ्जाल फेसबूकबाट लाइभ सन्देश जारी गर्दै रविले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि शीर्ष नेतालाई गुहारेका हुन् ।
चितवनको भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएपछि रविले सौहार्दरूपमा भोट हाल्ने वातावरणका लागि माहोल बनाइदिन आग्रह गरेका हुन् ।
‘मलाई लोकतान्त्रिक पद्धतिमा विश्वास छ । उम्मेदवारले यस्ता गतिविधि नगर्नुहोला । स्वस्थ प्रतिस्पर्धा गरौं । आममतदातालाई भोट हाल्न दिऊँ । भय रहित भोट हाल्न दिऊँ । म आउँदा, तपाईं आउँदा ताली बजाए होलान्, हुटिङ गरे होलान्, यस्ता गतिविधिबाट आवेगमा नआइदिनुहोला,’ रविले भनेका छन्, ‘शीर्ष नेताहरूलाई आग्रह गर्छु, मसँग चुनाव लडेका उम्मेदवारलाई सम्झाउनुहोला । नेता कार्यकर्तालाई सम्झाउनु होला ।’
मतदातालाई केही भयो भने जिम्मेवारी सबैले लिनुपर्ने भन्दै उनले शान्त र सहज रूपमा मतदान गर्ने वातावरण बनाउन आग्रह गरे । उनले आफ्ना शुभेच्छुकलाई पनि भड्किलो टिप्पणी नगर्न अनुरोध गरेका छन् ।
‘सामाजिक सञ्जालमा शुभेच्छुकहरूले भड्किलो कमेन्ट नगर्दिनुहोला । मभित्र पनि आवेग छ, तपाईंहरूसँग पनि होला । तर, हामी संयम हुनुपर्छ । कमेन्टमा गाली नगर्नुहोला ।’
बुथमा रहेका आफ्ना प्रतिनिधिलाई पनि संयम हुन उनले अपिल गरेका छन् । रविले अघिल्लोपटक चुनाव लडेका एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठसँग निर्वाचनका क्रममा तनाव नभएको पनि स्मरण गरे ।
रवि मतदानस्थलमा आउँदा उनका कार्यकर्ता र समर्थकले हुटिङ र उनको पक्षमा नाराबाजी गरेपछि कांग्रेस र एमालेले आपत्ति जनाएका थिए । उनले यसैतर्फ इंगित गरेका हुन् ।








प्रतिक्रिया