बुधबार, जेठ १, २०८२

जापानमा आठ हजार विदेशी बालबालिका विद्यालय बाहिर

नेपालखोज २०८० वैशाख १० गते १७:१०

काठमाडौं । जापान जस्तो अति विकसित देशमा समेत जापानमा रहेका विदेशी नागरिकहरूका बालबालिकामध्ये ६ प्रतिशत बालबालिकाले विद्यालय भर्ना नगरेको आश्चर्यजनक तथ्यांक सार्वजनिक भएको छ ।

जापानको शिक्षा मन्त्रालयले सन् २०२२ मा गरेको सर्वेक्षण अनुसार जापानमा रहेका आप्रवासीहरूका एक लाख ३६ हजार ९२३ बालबालिकाहरू प्राथामिक तथा आधारभूत शिक्षाका लागि विद्यालय जान योग्य देखिएका छन् । तर, शनिबार सार्वजनिक गरिएको मन्त्रालयको सर्वेक्षण प्रतिवेदन अनुसार त्यस्ता बालबालिकामध्ये ८ हजार १८३ जना विद्यालय भर्ना भएका छैनन् ।

जापानको शिक्षा मन्त्रालयले ठूलो सङ्ख्यामा विद्यालय बाहिर बालबालिका रहनुलाई चिन्ताजनकरूपमा लिदैँ त्यस्ता बालबालिकाहरूको विद्यालय भर्नाको लागि उनीहरूको अभिभावकलाई उचित सूचना दिने अभियान सुरु गरेको छ । विद्यालय भर्नाबाट बाहिर रहेका त्यस्ता विद्यार्थीमध्ये ९६ हजार २१४ शिशु शिक्षालयहरूमा र ४० हजार ७०९ आधारभूत शिक्षालय (जुनियर हाइस्कुल) मा हुनुपर्ने देखिएको छ ।

विद्यालय भर्ना भएरपनि नियमित शिक्षा लिन नगएका विद्यार्थीहरूको संख्या पनि छ हजार भन्दा माथि रहेको सर्वेक्षणमा देखिएको छ। जापानमा हाल एक लाख २५ हजार ४६८ बालबालिकाहरू प्राथमिक, आधारभूत र अन्तराष्ट्रिय विद्यालयहरूमा गरेर अध्ययनरत रहेको तथ्यांक पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

जापान सरकारले आधारभूत मानवअधिकारको रुपमा जापानमा रहेका सबै विदेशी बालबालिकाहरूलाई शिक्षा प्राप्त गर्न पाउने हक रहेको र त्यसप्रति जापानको अन्तराष्ट्रिय प्रतिवद्धता पनि रहेको शिक्षा मन्त्रालयले उल्लेख गरेको छ । स्मरणीय छ, जापानमा रहेका नेपाली बालबालिकाहरूले पहिलोपटक नेपालको एसइई परीक्षामा जापान परीक्षा केन्द्रबाटै सहभागि हुने अवसर पाएका थिए ।

जापानले बालबालिकाको शिक्षाका लागि संवेदनशिल र कठोर नीति अवलम्बन गरेको उदाहरण यस सर्वेक्षणले पनि प्रकाशमा ल्याएको छ । सर्वेक्षणमा विद्यालय जान योग्य रहेर पनि विद्यालयमा भर्ना नभएका विद्यार्थीहरूको संख्या घट्दै गएकोमा सन्तोष प्रकट गरेको छ । सन् २०१९ देखि नियमितरूपमा जापान सरकारले यस्तो सर्वेक्षण गर्न सुरु गरेको हो । जापानका एक हजार ७४१ सबै नगरपालिकाहरूमा यो सर्वेक्षण गरिएको थियो । Source – INS

प्रतिक्रिया