खेलै नखेली नेपाल सेमिफाइनलमा

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाको कारण रद्द भएपछि खेलै नखेली नेपाल सेमिफाइनलमा पुगेको छ । मुलपानी मैदानमा विहान ९ बजे सुरु हुने पर्ने खेल वर्षाको कारण मध्यान्ह १२:३० बजेसम्म पनि टस हुन सकेन।
खेल रद्द भएसँगै नेपाल र साउदीले समूह ‘ए’ मा एक एक अंक बाँडेका छन् । यसरी एक अंक जोडेसँगै र ओमान र साउदीबीचको खेल बाँकी रहेको कारण नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो ।
समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ। चार अंक जोडेर दोस्रो स्थानमा रहेको ओमान र तीन अंक जोडेर तेस्रो स्थानमा रहेको साउदीसँग दुई अंक जोडेको मलेसियाको पनि सेमिफाइनल सम्भावना बाँकी छ।
नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो। कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो । नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ।

प्रतिक्रिया