देउवाको ब्रिफिङ : उपनिर्वाचनमा ठूला पार्टीलाई जनताले पत्याएनन्

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दललाई जनताले नपत्याएको बताएका छन् ।
सोमबार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताले त्यति चासो नदेखाएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएका हुन् ।
पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्ने बारेमा पनि सांसदहरूसँग चासो राखेको पार्टीका सांसद रामहरि खतिवडाले जानकारी दिए । देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको खतिवडाले जानकारी दिए।
सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका थिए ।
खतिवडाले भने, ‘नेपाली कांग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरूको धारणा के छ ? भन्ने कुराको बारेमा छलफल गरेको छ। पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ। यसलाई अब कसरी लैजाने? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यति चासो नभएकोजस्तो छ भनेर केही कुरा राख्नुभयो।’
प्रतिक्रिया