न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

नेपालखोज २०८० वैशाख ११ गते १९:५९

काठमाडाैं । होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सोमबार भएको खेलमा न्यु डायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई समान ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।

न्यु डायमण्डले ललितपुर महानगरपालिकामाथि २५–१, २५–१२ र २५–८ को सोझो सेटमा जित निकाल्यो । अर्काे खेलमा एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सोझै सेटमा पाखा लगायो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबले पाटन बहुमुखी क्याम्पस र त्रिभुवन आर्मी क्लबले बोगटी समाज ललितपुरलाई समान ३–० को सोझो सेटमा हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पुलिसले पाटनमाथि २५–१३, २५–१० र २५–१४ को तथा आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को सेटमा पाखा लगायो ।

विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया