सरकारलाई दिएको समर्थन औचित्यहिन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारलाई दिएको समर्थन औचित्यहिन रहेको बताएका छन् । चितवन २ मा भारी मतान्तरले जित सुनिश्चित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारलाई दिएको समर्थनबारे पूर्नविचार गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिलेसम्म तय भइसकेको छैन। सरकारलाई दिएको समर्थनको औचित्य देखिएको छैन। अब काठमाडौं फर्किएपछि छलफल गर्छौँ । पछिल्लो समय कुनै औचित्य नदेखिएकाले छलफल गर्न आवश्यक भएको छ।’
आफूहरु नयाँ सरकार बनाउने खेलमा नलाग्ने भन्दै लामिछानेले सरकारप्रतिको समर्थन फिर्ता लिने संकेत गरेका छन् । ‘स्थिरता कायम होस् भन्ने चाहेर नै सरकारलाई दिएको समर्थन कायम राखेका हौँ ‘,उनले भने ।
समर्थनको नाममा सरकारले जे पनि गर्दा हुन्छ भन्ने छुट नभएको बताउँदै उनले निर्वाचनकै बेलामा यसलाई जिताईदिए मन्त्री बनाइदिन्छौं भन्नु लोकतन्त्रको भद्दा मजाक भएको बताए । ‘मैले यो सरकारको नेतृत्वबाट यस्तो अपेक्षा गरेको थिइन’ । जनताले आफूहरुलाई जुन एजेण्डाको लागि मत दिएका थिए त्यो नै सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाइएको उनको भनाइ छ ।
‘हामीले भ्रष्टाचारका जुनसुकै कालखण्डको छानविन हुनुपर्छ भनेर माग राखेका थियौं। तर, कसका लागि हो? कसलाई बचाउन हो?’ उनले प्रश्न गर्दै भने, ‘सरकारले त्यसलाई हटाएको छ । मैले त्यसमा चुनाव अघि नै आपत्ति जनाइसकेको थिए। अब यस बिषयमा हामी पार्टीभित्र छलफल गछौं ।
प्रतिक्रिया