एसीसी प्रिमियर कपमा कुवेतको जित

काठमाडौं । एसीसी प्रिमियर कपमा कुवेतले सिंगापुरलाई चार विकेटले पराजित गरेको छ ।
सिंगापुरले दिएको ११४ रनको झिनो लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै ११८ रन बनाउँदै भेट्टाएको हो ।
कुवेतलाई जित दिलाउने क्रममा ओपनर अदनान इर्देसले सर्वाधिक ३८ रन बनाए । त्यस्तै मित भावसर २७ र एशिन पटेल २१ रनमा अविजित रहे । सिराज खानले १० रनको योगदान गरे । कुवेतका तीन खेलाडीले एक अंकको रन बनाउँदा एक खेलाडीले खाता नै खोल्न सकेनन् ।
सिंगापुरका लागि अक्षय पुरी र बिनोथ बसकरणले दुई दुई तथा अदित्या भार्गाभा र थिसलपन ओमाईदुराले एक एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा ११३ रनमा अलआउट भएको हो ।
सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउँदा अन्य खेलाडीले एक अंकको मात्र रन बनाउन सके । सिंगापुरका लागि अमरत्या कौले सर्वाधिक ४५ रन बनाउँदा मनप्रित सिंहले २८ र थिलिपन ओमाईदुराले १३ रनको योगदान गरे ।
सिंगापुरलाई सस्तैमा रोक्न कुवेतका मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए । त्यस्तै सिराज खानले तीन विकेट लिँदा एशिन पटेल र अद्नान इर्देसले एक एक विकेट लिए ।
जितसँगै कुवेतको सेमिफाइनलको सम्भावना रहेको छ । उसको तीन खेलबाट चार अंक रहेको छ । सिंगापुर भने प्रतियोगितामा सबै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया