मृगौलाको पत्थरी हुँदा के नखाने ?

डा. हेमराज कोइराला २०८० वैशाख १३ गते ७:३९

मृगाैलाकाे पत्थरी भएकाहरूले के के नखाने भनेर थाहा पाउनु भन्दा पूर्व पत्थरी कस्ताे किसिमकाे हाे भनेर जन्नु पर्ने हुन्छ। मृगाैलाकाे पत्थरी विशेषतः चार प्रकारका छन्।

१. क्यालसियम अक्जेलेट पत्थरी

२. क्यालसियम फस्फेट पत्थरी

३. यूरिक एसिड पत्थरी

४. सिस्टिन पत्थरी

क. क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने ?

यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसापमा निहित क्यालसियम संग अक्जेलेट मिलेर अघुलनशिल क्रिष्टल बनाए पछि हुने गर्दछ। क्यालसियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमा पाईने गर्छ । यी मध्ये क्यालसियम हाम्रो शरीरका लागि चाहिने तत्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन । यसर्थ क्यालसियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यत उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निशेध वा कम गर्नु पर्दछ । यसै गरि शरीरमै अक्जेलेट बन्न मद्यत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नु पर्ने हुन्छ ।

१. उच्च अक्जेलेट भएका खानेकुराहरूः – पालुङ्गो । – भाण्टा – काजु, पिस्ता र बदाम। – कालो अङ्गूर – च्याउ – फर्सी – काक्रो – टमाटर – अमला – मिसो सुप । – बोक्रा सहितको आलु। – चूकन्दर। – कोका पाउडर – भिण्डी। – फ्रेन्च फ्राई। – रास्पबेरी। – स्टेभिया । – सूठूनी

२. चर्को नुन हालिएका खानेकुराहरूः चाहिने भन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसापको रूपमा बाहिर गईरहेको पानीलाई पुनः अवशोषण गरि पिसापलाई बाक्लो बनाउने गर्छ । यसो हुँदा पिसापमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसंग संयोग भई क्यालसियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ।यसर्थ मृगौलाको पत्थरीकाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजीनोमोटो हालिएका एवं, तारे भूटेको, चटपटे, फ्राईडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेबन गर्नु हुदैन ।

३. प्राणी जन्य खानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्त प्रोटीनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउदछ। यसर्थ जनावर जन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दुध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नु हुदैन।

४. उच्च मात्रामा भिटामीन सीको सेवन गर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरि उच्च पत्थरी बनाउन मद्यत गर्दछ। यसर्थ प्रति दिन भिटामीन सीको सेवन ५०० मिग्रा भन्दा ज्यादा हुनु हुदैन् ।

ख. क्यालसियम फस्फेट पत्थरीमा के नखान ?

पिसापमा भएको क्यालसियमले जव पिसापमै भएको फस्फेट मिनरल संग संयोग गरि बनाएको पत्थरीलाई क्यालसियम फस्फेट पत्थरी भन्ने गरिन्छ । क्यालसियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन ।

जस्तै १. माछा, मासु अण्डा जस्ता जङ्गम खाद्यः प्राणी बाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाईन्छ । खाएको फस्फोरस रगत हुदै पिसापमा उत्सर्जित हुदै गर्दा क्यालसियमसंग प्रतिक्रिया गरेर क्यालसियम फस्फेटको क्रिष्टल बनाउने गर्दछ ।

२.दुध, दहि, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाईने हुँदा पत्थरी बनाउन मद्यत गर्दछ,

३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोत हो ।

४. जङ्क फूडः जंङ्कफूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ । यसै गरि स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ ।यसर्थ जङ्कफूड, फाष्टफूड, प्रोसेष्डफूड, केनफूट आदिको सेवन गर्नु हुदैन ।

५. चर्को नुनको सेवनः उचच मात्रामा नूनको सेवन गर्ने गर्दा यसले पिसापलाई बाक्लो बनाउने हुँदा क्यालसियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाईदिन्छ ।

ग. यूरिक एसिड पत्थरी हुँदा के नखाने ?

रगतमा यूरीक एसिडको मात्रा बढे सगै यूरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ। यसर्थ यूरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला ।

१.माछा—मासुः यूरिक एसिड पत्थरी भएका र यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२. समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दछ र यूरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।

३. मदिरा युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा बर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

४.कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल – गेडागुडि – दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ र यूरिक एसिड पत्थरी हुन सम्दछ ।

६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारिको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होईन ।

७.जङ्क फूड – जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ र पत्थरी बन्दछ ।

८. अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन यस्ता खानेकुराको सेवनले रगतमा यूरिक एसिड बढाएर यूरिक एसिड पत्थरी बन्न सहयोग गर्छ ।

घ. सिष्टिन पत्थरी हुँदा के नखाने?

प्रोटिन बनाउन प्रयूक्त हुने सिष्टिन एमाईनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसापमा उत्सर्जित भएर बन्ने सिष्टिन पत्थरी अन्य पत्थरी भन्दा आकारमा ठूलो हुने गर्छ र एक पछि अर्को बनी रहने गर्दछ। यस किसिमको पत्थरीको मुख्य कारण सिष्टिन्यूरीया भन्ने आनुबंशीक रोग हो। यद्यपि खानेकुराहरूको पनि सिष्टिन पत्थरी गराउनमा विशेष भूमीका हुन्छ । माछा, मासु, अण्डा, दुध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्छ ।

यसैगरि अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै फ्रे¸फ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिष्टिन्यूरीयालाई बढाउँदछ । यसै गरि कम पानी पिउनेहरूलाई पनि सिष्टन पत्थरी हुने सम्भावना रहन्छ । पानी कम पिउदा पिसापको अम्लता बढेर पत्थरी बन्ने गर्छ ।

डा. हेमराज कोइराला

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया