आइतबार, जेठ ६, २०८१

घरेलु मैदानमा कोलकातासँग हार्‍याे बेंगलोर

नेपालखोज २०८० वैशाख १४ गते ८:०८

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ३६ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै कोलकाता तेस्रो जितका साथ अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । कोलकाताले अहिलेसम्मका ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंक बटुलेको छ । यसैगरि बेंगलोर आफ्ना ८ खेलमध्ये ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ ।

बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । कोलकाताको जितमा ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५६ रन बनाए । कोलकातालाई ओपनर नारायण जगदिशन र जेसन रोयले ९.२ ओभरमा ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बेंगलोरका वानिन्दु हसरंगाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने विजयकुमारले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

यसैगरी मोहम्मद शिराजले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिएका थिए । जितका लागि २ सय १ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन मात्र जोडन सक्यो । बेंगलोरका कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकासहित सर्वाधिक ५४ रन बनाए पनि टिमको हार भने टार्न सकेनन् । कोहली आन्द्रे रसेलको १३ औं ओभरको पहिलो बलमा वेंकटेश ऐरबाट क्याच आउट भएपछि जितको सम्भावना कठिन भएको थियो । फाफ डु प्लेसिस ७ बलमा १ चौका र २ छक्कासहित १७ तथा ग्लेन म्याक्सवेल ५ रनमा आउट भएपछि बेंगलोर दबाबमा परेको थियो ।

कोलकाताका लागि बरुण चक्रवर्तीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने सुयश शर्माले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । कोलकाताले अब वैशाख १६ गते शनिबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ भने बेंगलोर वैशाख १८ सोमबार लखनऊ सुपर जायन्ट्ससँग भिडनेछ ।

प्रतिक्रिया