विदेशबाट भित्रिन्छन् औलोका बिरामी, अनि कसरी हुन्छ निवारण ?

काठमाडाैं । नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात् आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य छ ।
औलो निवारणका लागि स्थानीय औलो बिरामीको सङ्ख्या शून्य हुनुपर्छ । तर शून्यमा झार्ने सरकारको यो लक्ष्य लुम्बिनी प्रदेशमा भने पूरा हुने छैन। विदेशबाट आउने औलोको बिरामीको बढ्दो सङ्ख्या यो चुनौती सृजना गरेको हो ।
स्थानीय औलोका बिरामीको सङ्ख्या घटे पनि भारतबाट आयातीय औलोको बिरामीको सङ्ख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.बिनोदकुमार गिरीले बताए।
यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये ८ जना मात्र स्थानीय औलो बिरामीको सङ्ख्या रहेको डा.गिरीले बताए । डा. गिरी भने, ‘१ सय ३२ जना खुल्ला सीमाबाट प्रवेश गरेका बिरामी छन्।’
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजन्म कुर्मीले सन् २०२५ सम्म औलो बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्यका साथ अगाडी बढेको बताए । औलोका कारण नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो।
त्यसपछि हालसम्म औलोका कारण कुनै पनि बिरामीको मृत्यु भएको छैन। ‘नेपालमा औलो बाट हुने मृत्यु शून्यमा झारेका छौँ’ निमित्त निर्देशक कुर्मीले भने ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको सङ्ख्यालाई पनि शून्यमा झार्नेछौँ।’
‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ विश्व औलो दिवस मनाइएको छ। आ. व. २०७९/०८०मा लुम्बिनी प्रदेशमा औलोको बिरामी सबैभन्दा धेरै भेटिएको छ।
कर्णालीमा ३०, गण्डकीमा १९, बागमतीमा २७, मधेस प्रदेशमा ४४ र कोशी प्रदेशमा १२ जना औलोका बिरामी फेला परेका छन्। लुम्बिनी प्रदेशभित्रका १२ वटै जिल्लामा औलोका बिरामी भेटिएका छन्।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै १ सय ४० जना औलोका बिरामी रहेको निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताए। उहाँका अनुसार प्रदेशको सबै भन्दा धेरै बाँकेमा ९३ जना औलोका बिरामी रहेका छन्।
‘नरैनापुर औलाका बिरामीको सङ्ख्या अनुसार उच्च जोखिममा रहेको छ’ पाण्डेले भने, ‘वडा नं ३ लाई उच्च जोखिममा राखेर यसको निवारणमा लागेका छौँ।’ दोस्रोमा कपिलवस्तुमा १२ जना, बर्दियामा चार, दाङमा चार, रुकुमपूर्वमा एक, रोल्पामा एक, प्युठानमा तीन, अर्घाखाँचीमा एक, गुल्मीमा दुई, रुपन्देहीमा आठ, पाल्पामा पाँच, नवलपरामीमा छजना बिरामी फेला परेका छन्।
औलो रोग विशेषगरी एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाई बाट सर्ने चिकित्सकहरू बताए। नेपालमा मुख्य गरी औलोको दुई किसिमका परजीवीहरू पाइने गरेको छ । ती हुन्, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स। यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोड बढी जटिल र जोखिमयुक्त हुन्छ ।
औलो रोगका लक्षण
औलो रोगका परजीवी भएको लामखुट्टेले टोकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वास्ता हुने, जोर्नीहरू दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अङ्गहरू फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ ।
नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरूले औलो लिएर आउने गर्छन् ।
अफ्रिकी देशहरूमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ। लुम्बिनीका सुनौली नेपालगन्ज नवलपरासीको लगाएका क्षेत्रबाट बढी भारत तथा तेस्रो मूलकबाट आउने गर्दछ ।
औलोको रोकथाम र उपचार
खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन्। ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको सङ्क्रमण देखा परे तत्काल उपचार गर्ने गरेका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले भने।
शङ्कास्पद बिरामी तथा बिरामीहरूको रक्त नमुना सङ्कलन गरी परीक्षण गरेपछि मात्र औलो भएर नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरूका आधारमा परीक्षण, सूक्ष्म दर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ। परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुने गर्छ। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णपुरमा औषधि सेवन गर्नुपर्ने हुन्छ।
औषधि निष्प्रभावि बन्दै जानु पनि औलो रोग नियन्त्रणमा समस्याको विषय हो। यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ।
विशेषज्ञहरू अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन ढकालले भने।

प्रतिक्रिया