आइतबार, वैशाख २३, २०८१

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ

नेपालखोज २०८० वैशाख १५ गते १३:३७

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हो । बिना विभागीय मन्त्रीका रूपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेकाे हो ।

सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली काङ्ग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम काँग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

काँग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा काँग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित भएका थिए ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

प्रतिक्रिया