आजलाई होइन भोलिलाई एकपटक समर्थन फेरि ओलीलाई गराैं : राजेश हमाल
काठमाडौं । महानायक राजेश हमालले एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन आग्रह गरेका छन् । एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको परिस्थितिमा ओलीको आवश्यकता रहेको दाबी गरे ।
समकालिन नेपाली राजनीतिमा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गरेको हमालले बताए । उनले भने, ‘आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ । म नेकपा एमालेको कार्यकर्ता वा समर्थक होइन् तर ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निस्कर्ष मेरो हो ।’
उनले एमाले प्रवेश गर्न लागेको भन्ने हल्ला अफवाह रहेको समेत बताए । अहिलेका नेतामध्ये ओली उत्कृष्ट रहेको भनेर जो-कोहीले भन्ने उनको दाबी छ । उनले ओलीले जस्तो काम अरुले गर्न नसकेको पनि आरोप लगाएका थिए । उनले भने, ‘एउटा नेतामा हुनुपर्ने गुण उहाँमा छ, केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ । उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ । समाजमा विभिन्न पक्ष हुन्छ, ती सवैमा केपी ओली निपुन हुनुहुन्छ । आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनुहुन्छ । म एमाले बनेको छैन, बन्ने सम्भावना पनि छैन तर केपी ओली राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु ।’
प्रतिक्रिया