शुक्रबार, वैशाख १४, २०८१

एनएमबि लघुवित्तले सेयरधनीले १० प्रतिशत बोनस सेयर दिने

नेपालखोज २०८० वैशाख १५ गते १७:०६

पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारणसभा आज पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बाले पेश गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो ।

सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार आठ सय ६२ रुपैयाँको १० प्रतिशतले हुन आउने रकम छ करोड ५५ लाख ८६ हजार दुई सय ८६ रुपैयाँ २० पैसा बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको बताइएको छ ।

सभामा संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना सम्वन्धी संस्थाको प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको जनाइएको छ ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने/गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको कंपनी सचिव सुर्य थापाले बताएका छन् ।

प्रतिक्रिया