सर्वसाधारणका लागि चुक्ता पुँजीको ३० प्रतिशत आईपिओ निष्काशन गर्ने डिसहोमको तयारी

काठमाडौं । डिसहोमले सर्वसाधारणका लागि चुक्ता पुँजीको ३० प्रतिशत आईपिओ निष्काशन गर्ने तयारी थालेको छ ।
यसअघि कुल चुक्ता पुँजीको १० प्रतिशत स्वामित्वमात्रै सर्वसाधारणलाई बेच्ने गरी सार्वजनिक निष्काशन (आइपीओ)को प्रक्रिया अघि बढाएको डिसहोमले सेयर स्वामित्व पुनरसंरचना गरेर ३० प्रतिशत पुर्याउन लागेको हो ।
कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशत स्वामित्व सर्वसाधारणमा विक्री गर्न लागिएको डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सम्बन्धि व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि कम्पनीहरु पुरानै स्थिति अनुरुप किताबी मूल्यमै सेयर निष्काशन गर्न थालेका छन् । सोही कारण डिसहोमले पनि अब किताबी अंकित मूल्यमै सेयर निष्काशन गरेर जाने तयारी थालेको हो।
डिसहोम नेपालमा ‘डाइरेक्ट टु होम–डीटीएच’ प्रणालीमार्फत् स्याटेलाइट टेलिभिजन सेवा प्रदायक संस्था हो । डिसहोम (टेलिभिजन) सँगै पछिल्लो समय यो कम्पनीले फाइबर इण्टरनेट सेवासमेत दिँदै आएको छ ।
करिब १३ वर्षअघि स्थापित यो कम्पनीले दुई वर्षयता आईपिओ निष्काशन गर्ने योजना अघि सारेको थियो । २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्ने गरी नेपाल धितोपत्र बोर्डमा निवेदन पनि दिइसकेको थियो । २०७७ असार ३० गते कम्पनीले बोर्डमा निवेदन दिएपछि त्यही वर्षको असोज १९ मा सेबोनले पनि आवश्यक कागजात हेरेर टिप्पणी उठाइसकेको थियो ।
तर त्यसयता बुकबिल्डिङको चक्करमा लाग्न थालेपछि कम्पनीको फाइल अहिले पनि त्यहाँबाट अघि बढ्न सकेको छैन । अब भने बुकबिल्डिङतिर नलागि आइपिओमा बेच्ने सेयरको परिमाण तीन गुणा बनाउने योजना कम्पनीले अघि सारेको छ । हालैमात्र कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको ३० प्रतिशत सेयर अंकित मूल्यमै विक्री गर्ने गरी आईपिओ निष्काशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
उक्त कम्पनीमा नेपाल उद्योय बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, प्रभू ग्रुपका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद देवीप्रकाश भट्टचन, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कम्पनीका सीईओ आचार्यसमेतको लगानी छ ।
प्रतिक्रिया